यस्तो छ सुदूरपश्चिम प्रहरीको फागुन महिनाको रिपोर्ट
धनगढीः सुदूरपश्चिम प्रदेशमा एक महिनाको अवधिमा विभिन्न अपराधका घटनामा संलग्न २२१ जना पक्राउ परेका छन् भने ६९ जना अझै फरार रहेका छन्। चालु आर्थिक वर्ष २०८२/०८३ को फागुन महिनामा प्रदेशभर दर्ता भएका ३०५ अपराधसम्बन्धी मुद्दामध्ये ती आरोपितहरू पक्राउ परेका हुन्।
प्रहरीका अनुसार फागुनमा ज्यानसम्बन्धी ५८, आत्महत्या ५२, चोरी १३, संगठित तथा आर्थिक अपराध ६१, सामाजिक अपराध ५३, महिला तथा बालबालिकासम्बन्धी २२, सवारी ज्यान १५ र अन्य ३१ घटनाका मुद्दा दर्ता भएका छन्। तीमध्ये ६२ वटा जघन्य तथा गम्भीर प्रकृतिका अपराध रहेका छन्।
फैसला कार्यान्वयनतर्फ पनि प्रहरीले सक्रियता देखाउँदै ६२ जना पक्राउ गरेको छ भने ३९ वर्ष ७ महिना ७ दिन बराबरको कैद सजाय कार्यान्वयन गरिएको छ। साथै, ५ लाख ५२ हजार रुपैयाँ जरिवाना असुल गरिएको जनाएको छ।
लागुऔषध नियन्त्रणअन्तर्गत ५३ मुद्दा दर्ता भई ८६ जना पक्राउ परेका छन्। यस क्रममा २ किलोभन्दा बढी चरेस, करिब १०० ग्राम खैरो हिरोइन तथा विभिन्न किसिमका ट्याब्लेट बरामद गरिएको छ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसँग सम्बन्धित २५ उजुरी दर्ता भएका छन् भने घरेलु हिंसाका ७३ उजुरीमध्ये ५९ वटा मिलापत्रमार्फत टुंग्याइएको छ।
त्यस्तै, फागुन महिनामा १११ सवारी दुर्घटना हुँदा १६ जनाको मृत्यु भएको छ भने १६९ जना घाइते भएका छन्। ट्राफिक कारबाहीबाट २० लाख ८ हजार रुपैयाँ राजस्व संकलन गरिएको छ।
भन्सार छलि तथा राजस्व चुहावट नियन्त्रणतर्फ ८३ लाख रुपैयाँभन्दा बढी मूल्यका सामान बरामद गरिएको छ। विपद् व्यवस्थापनअन्तर्गत विभिन्न घटनामा २५ जनाको उद्धार गरिएको प्रहरीले जनाएको छ।
प्रदेश प्रहरी कार्यालय डिआईजी ओमबहादुर रानाको नेतृत्वमा सञ्चालन भइरहेको छ भने एसएसपी पदमबहादुर विष्ट प्रवक्ताका रूपमा रहेका छन्। प्रहरीले फागुन महिनाभर जनचेतनामूलक कार्यक्रम, फरार अभियुक्तको खोजी, निगरानी वृद्धि तथा समुदाय–प्रहरी साझेदारी कार्यक्रमलाई तीव्र बनाएको जनाएको छ।