कैलालीमा एक लाख बढीका भन्सार छलीका सामान बरामद
कैलालीः कैलाली जिल्लाका विभिन्न स्थानबाट प्रहरीले अवैध रूपमा भारतबाट भन्सार छलि गरी ल्याइएका सामान बरामद गरेको छ।
धनगढी उपमहानगरपालिका–३ स्थित ज्ञानु प्लाजा नजिक तथा भजनी नगरपालिका–७ हिक्मतपुरस्थित जंगल क्षेत्रमा शनिबार प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा सामान फेला पारेको हो।
बरामद गरिएको सामानमा चिनी, पेय पदार्थ, बिडी, सुर्ती, चुरोट लगायतका सामग्री रहेका छन्। ती सामानहरूको अनुमानित मूल्य रु. १ लाख १७ हजार ५६० रहेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय कैलाली मातहत खटिएको टोलीले आवश्यक प्रक्रिया पूरा गरी सामान नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।