सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा एक महिनामा लागूऔषध मुद्दामा ८६ जना पक्राउ

फाइल फोटो
फाइल फोटो
२०८२ चैत्र ८, १०:१२ खबर संवाददाता

धनगढीः सुदूरपश्चिम प्रदेशमा फागुन महिनाभरि लागूऔषध सम्बन्धी ५३ वटा मुद्दा दर्ता भएका छन्। प्रदेश प्रहरी कार्यालयले सार्वजनिक गरेको विवरण अनुसार ती घटनामा ४ महिला र ८२ पुरुष गरी कुल ८६ जना पक्राउ परेका छन्।

प्रहरीले पक्राउ परेकाहरूको साथबाट २ किलो ६० मिलिग्राम चरेस, ९९ ग्राम ८९० मिलिग्राम खैरो हिरोइन तथा १०५ एम्पुल फेनारगन बरामद गरेको जनाएको छ।

उक्त अवधिमा प्रदेशभर कुल ३०५ वटा अपराधका मुद्दा दर्ता भएका छन्। जसमा ज्यान सम्बन्धी ५८, आत्महत्या सम्बन्धी ५२, चोरीका १३, सङ्गठित तथा आर्थिक अपराधका ६१, सामाजिक अपराधका ५३, महिला तथा बालबालिका सम्बन्धी २२, सवारी ज्यानका १५ र अन्य ३१ वटा मुद्दा समावेश छन्। तीमध्ये ६२ वटा जघन्य अपराधका मुद्दा रहेको प्रहरीले जनाएको छ।

यसैबीच, फागुन महिनामा ५२ जनाले आत्महत्या गरेको तथ्याङ्क सार्वजनिक भएको छ। आत्महत्या गर्नेमा २१ पुरुष, १९ महिला, ३ बालक र ९ बालिका रहेका छन्।

प्रहरीका अनुसार आत्महत्या गर्ने अधिकांशले झुन्डिएर ज्यान त्याग गरेका छन्, जसको संख्या ४६ छ। यस्तै ६ जनाले विष सेवन गरेर आत्महत्या गरेका छन्।

उमेर समूहअनुसार हेर्दा ३१ देखि ४० वर्ष समूहका सबैभन्दा बढी १५ जना रहेका छन्। त्यसपछि १० देखि २० वर्षका १३ जना, २१ देखि ३० वर्षका १० जना, ४१ देखि ५० वर्षका ६ जना र ५० वर्षभन्दा माथिका ८ जना रहेका छन्।

प्रहरीका प्रवक्ता पदम बहादुर विष्टका अनुसार प्रदेशमा अपराध नियन्त्रणका लागि निगरानी र कारबाहीलाई अझ कडा बनाइएको छ।

कमेन्ट लोड गर्नुस