सुदूर नेपाललाई विश्वसँग जोड्दै

रास्वपाको संकेत: राजनीतिक नियुक्ति लिएकाहरूलाई मार्ग प्रशस्त गर्न आग्रह, नयाँ सरकार गठनको तयारी तीव्र

२०८२ चैत्र ८, ०२:२२ खबर संवाददाता

धनगढीः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नयाँ जनादेशपछि सरकार गठनको तयारी तीव्र बनाउँदै अघिल्ला सरकारबाट राजनीतिक आधारमा नियुक्ति लिएका पदाधिकारीहरूलाई स्वस्फूर्त रूपमा राजीनामा दिन संकेत गरेको छ।

पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार औपचारिक रूपमा राजीनामा मागिएको नभए पनि विगतमा योग्यता र क्षमताभन्दा पहुँच र राजनीतिक प्रभावका आधारमा गरिएको नियुक्तिप्रति नागरिक असन्तुष्टि बढेकाले अब त्यसलाई सम्बोधन गर्न आवश्यक देखिएको छ। उनले नयाँ सरकार गठन भइसकेपछि पुरानै नियुक्तिलाई निरन्तरता दिनु उपयुक्त नहुने धारणा व्यक्त गरे।

बुर्लाकोटीले पार्टी वा सरकारले एकैपटक सबैलाई राजीनामा दिन निर्देशन दिने अवस्था नरहेको स्पष्ट पार्दै, यस्ता पदाधिकारीहरूले स्वयं मार्ग प्रशस्त गरिदिए नयाँ सरकारलाई योग्य र विषयविज्ञ व्यक्तिहरू चयन गर्न सहज हुने विश्वास व्यक्त गरे।

उनका अनुसार हालसम्म अघिल्ला सरकारले गरेका राजनीतिक नियुक्तिहरूको औपचारिक विवरण संकलन गरिएको छैन, तर अनौपचारिक रूपमा करिब ११०० जति त्यस्ता नियुक्ति रहेको अनुमान गरिएको छ।

हालै सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा रास्वपाले उल्लेखनीय सफलता हासिल गर्दै प्रत्यक्षतर्फ १२५ र समानुपातिकतर्फ ५७ सिट जित्दै कुल १८२ स्थानमा विजय प्राप्त गरेको छ।

रास्वपाले प्रस्ताव गरेका प्रधानमन्त्री बालेन शाहले चैत १३ गते पद तथा गोपनीयताको शपथ लिने तयारी छ भने त्यसअघि चैत १२ गते उनलाई संसदीय दलको नेता चयन गरिनेछ। संविधानको धारा ७६(१) अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले शाहलाई प्रधानमन्त्री नियुक्त गर्ने प्रक्रिया अघि बढाउनेछन्।

कमेन्ट लोड गर्नुस