सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा एसईई परीक्षार्थी घटे, विद्यालय संख्या भने बढ्यो

२०८२ चैत्र ९, ११:५१ खबर संवाददाता

बैतडी: बैतडी जिल्लामा यस वर्ष माध्यमिक शिक्षा परीक्षा (एसईई) दिने विद्यार्थीको संख्या घटेको छ। गत वर्षको तुलनामा ३८६ जना कम विद्यार्थीले परीक्षा दिने भएका छन्। अघिल्लो वर्ष ४,३०७ जना सहभागी भएकोमा यस वर्ष ३,९२१ परीक्षार्थी मात्र एसईईमा सहभागी हुनेछन्।

विद्यार्थी संख्या घटे पनि परीक्षा दिने विद्यालयको संख्या भने बढेको छ। यस वर्ष १३८ सामुदायिक र ४ संस्थागत गरी कुल १४२ विद्यालयका विद्यार्थी एसईईमा सहभागी हुनेछन्, जुन गत वर्षको १३६ विद्यालयभन्दा ६ वटा बढी हो।

त्यसैगरी, ग्रेडवृद्धि परीक्षामा सहभागी हुने विद्यार्थी संख्या पनि घटेको छ। गत वर्ष १,०५५ जना सहभागी भएकोमा यस वर्ष ६३० जना मात्र सहभागी हुने भएका छन्, जसले ४२५ जनाको कमी देखाउँछ।

आगामी चैत १९ गतेदेखि २९ गतेसम्म सञ्चालन हुने एसईई परीक्षाका लागि जिल्लाभर २६ वटा परीक्षा केन्द्र तोकिएका छन्। सातवटा प्राविधिक विद्यालयका विद्यार्थीका लागि पाटनस्थित भीमदत्त बहुप्राविधिक शिक्षालयमा परीक्षा केन्द्र निर्धारण गरिएको छ।

शिक्षा समन्वय इकाइका अनुसार सामुदायिक विद्यालयप्रति अभिभावकको घट्दो विश्वास र पहाडी क्षेत्रबाट बढ्दो बसाइँसराइका कारण प्रत्येक वर्ष विद्यालयमा भर्ना हुने विद्यार्थी संख्या घट्दै गएको छ, जसको असर एसईई परीक्षार्थी संख्यामा देखिएको हो।
 

कमेन्ट लोड गर्नुस