सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमका ५ सांसद मातृभाषामा शपथ लिँदै, ३ ले रोजे डोटेली र २ ले थारु/रानाथारु

२०८२ चैत्र १०, ०१:०३ खबर संवाददाता

धनगढी: २१ फागुनमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनबाट निर्वाचित सांसदहरूको पद तथा गोपनीयताको शपथग्रहण १२ चैतमा हुने भएको छ। २७५ सदस्यीय प्रतिनिधिसभामा सबैभन्दा ज्येष्ठ सदस्य रहेका नेपाली कांग्रेसका अर्जुननरसिंह केसीले राष्ट्रपतिबाट शपथ लिएपछि अन्य सांसदलाई शपथ गराउने कार्यक्रम छ।

यसपटक २४ जना सांसदहरूले नेपाली बाहेक आफ्नै मातृभाषामा शपथ लिने इच्छा व्यक्त गरेका छन्, जसमा सुदूरपश्चिम प्रदेशका पाँच जना छन्। डोटेली भाषामा शपथ लिनेहरूमा दीपक बोहरा, आकृति अवस्थी र हरिना कामी रहेका छन्। उनीहरू सबै डडेल्धुराका बासिन्दा हुन् भने बोहरा कञ्चनपुर–२ बाट निर्वाचित भएका थिए।

त्यसैगरी, गीता चौधरीले थारु भाषामा र कृपाराम रानाले रानाथारु भाषामा शपथ लिने तयारी गरेका छन्। यी दुवै जना कञ्चनपुरबाट समानुपातिक प्रणालीमार्फत सांसद बनेका हुन्।

शपथसम्बन्धी ऐन २०७९ अनुसार सांसदहरूले आफ्नो मातृभाषामा शपथ लिन पाउने व्यवस्था रहेको छ। सोही आधारमा सांसदहरूले आफूले रोजेको भाषाको विवरण संसद सचिवालयमा दर्ता गराएका हुन्।
 

कमेन्ट लोड गर्नुस