सिन्दूरकाे रात र जयमालाकाे झङ्कार
मान सिंह धामी, दार्चुलाः म साहित्य तथा राजनीति शास्त्रकाे विद्यार्थी नभए पनि मैले सामाजिक सञ्जालमा लेखेका आत्मकथाहरूबाट मेरा शुभचिन्तक सम्पूर्ण पाठकहरुबाट पाएकाे सल्लाह सुझाव र थप जिज्ञासाले गर्दा म हाैंसिएकाे पनि छु ।
पाठकहरूबाट पाएकाे यही हाैसलाले गर्दा मेराे जीवनका केही थप आत्मकथाहरू लेखूँ लेखूँ लागिरहेकाे छ । यसरी मैले सामाजिक सञ्जालमा आत्मवृत्तान्त यहाँहरू समक्ष पेस गर्ने जमर्काे गर्दा याे मेराे साहित्य बिनाकाे काेरा शब्दहरु पढेर पाठकहरुले खिल्ली पाे उडाउने हुन कि ? भन्ने मनमा संकाेच त लागि नै रहेकाे छ । तर पनि यस लेखले भावीपुस्ताकाे लागि प्रेरणाकाे स्राेत बन्ने छ भन्ने पूर्ण विश्वास लिएकाे छु ।
भावीपुस्तालाई याे लेखमा के रहेछ त ? पढीहालाैं न त भनेर जिज्ञासा पक्कै पनि पलाउन सक्छ । मैले मेराे विवाह संस्मरणलाई यस लेखमा समेट्ने प्रयास गरेकाे छु । याे लेख पढ्ने अहिलेका नव तन्नेरी युवायुवतीहरू आश्चर्य चकित अवश्य पनि हुनेछन् ।
हुन त मैले विवाह प्रसङ्गलाई यस लेखमा उल्लेख गर्न खाेजेकाे हुँ । तर कहाँबाट कसरी सुरु गर्ने ? केही अडकल आइरहेकाे छैन...। जे पाे हाेला बिषय प्रवेशगर्ने अनुमति मागे है । कुरा वि. सं. २०४६ साल मंसिर १७ गते बिहिवारकाे हाे । त्याे दिन मेराे लागि एक नाैलाे अनुभव, बचपनबाट जवानी अवस्थामा प्रवेश गरेकाे स्वर्णिम युग थियाे कि भन्ने लागिरहेकाे छ ।
विवाहित जाेडीहरूले याे लेख पढ्दा आफूलाई कुन दर्जा र कुन युगसँग तुलना गर्नु हुन्छ ! त्यसमा मेराे भन्नु केही छैन । मनमा कत्ति पनि कुरा नलुकाई मेराे विवाहकाे बेलीविस्तार लगाउन गइरहेकाे छु ।
भाग-१ (एक)
आफू निकट भविष्यमा कसैकाे पति, कसैकाे भिनाजु , कसैकाे ज्वाइँ (जमाई) बन्ने र ससुराली घर हुने जाेशजाँगर र उमंगले म फुरुङ्ग भने नभएकाे हाेइन । मंसिर महिनाकाे सुरुवात सँगै विवाहकाे लागि तयारी हुन थाल्याे । रासनपानी, गरगहना, लत्ताकपडा, पैंसाटाका आदिकाे जाेहाे मिलाए आमाबुवा लगायत छरछिमेकीहरूले ।
गाउँका अंकल (काका), दाजुहरु, बाजे विभिन्न नातापर्ने मेरा अग्रजहरु काेही काेथला (सनपाटबाट निर्मित ठुलाे थैलाे) मा गहुँ, मकै हालेर घट्ट गए, काेही विवाहकाे लागि सरसामान किनमेल गर्न जाैलजिबी गए त बुवा गरगहाना बनाउन दार्चुला जानु भयाे । वल्लापल्ला घरमा आन्टी (काकी), बाैजु (भाउजु), दिदी, फुपूहरुले ओखलमा धान कुट्नु भयाे ।
करिब हप्तादिनमा विवाहकाे लागि चाहिने सरजाम (सामान) तयार भयाे । घर लिपपाेत (राताे माटाेले भित्र पट्टि र बाहिर कमेराे र राताे माटाे) गरियाे । विवाहमा सघाउनु हुने सम्पूर्णलाई नमन गर्दछु । अहिलेकाे जस्ताे विवाहकार्ड छाप्ने चलन थिएन । सञ्चार प्रविधिकाे विकास भएकाे थिएन ।
जाेला जनै र सुपारीसहित आफ्ना इष्टमित्रहरु (मामा, फुपू, दिदी) आदि सबै सबैलाई स्वयम् घरमै गएर विहेकाे लागि न्युताे (निमन्त्रणा) दिइयाे । जनै र सुपारीकाे पाेका पारेर गाउँघर, टाेल, छिमेकमा पनि न्युताे दिइयाे ।
विवाह लगन नजिकै आइपुग्याे सरजामकाे जाेहाे गर्दै । मंसिर १६ गते साँझ सेलराेटीसहितकाे दशमी मनाउनु भयाे सबैले । अझ राेचक कुरा त भन्नै विर्सेछु ! न्युतेर (निम्तालु) घरमा आइपुग्ने बित्तिकै अक्षता पिठाँकाे टीकाले स्वागत गरी मुखविटाल (घिउ मिलाएकाे गुड) दिइन्थ्याे । दुध हालेर बनाएकाे चियासँगै गुडकाे कट्कीले स्वागत गरिन्थ्याे । साँच्चिकै त्याे दिन मुखैमा पुग्याे र म ब्याैलाे (बेहुला) हुने भए ।
१७ गते बिहानै सबै न्युतेरहरु घरमा टुप्लुक्क आइपुगे । टाढाबाट आउने न्युतेरहरु त दशमीकै दिन आइसकेका थिए । जन्तीजाने तयारी हुन थाल्याे । म त त्याे दिनकाे राजा नै भैहाले, अरु न्युतेरहरु काेही ताइपश्चर (सेलराेटी) लगाउन थाले, काेही ध्वजा पताका लगाउन (पतंग) थाले, काेही केलाका थुम (बाेट) बाट निर्मित गेट बनाउने त काेही चाहा (चिया) पकाउने, काेही भाँडा धुने (बाैजू, काकी आदि), काेही उखु पेल्ने सबै काम एकै छिनमा सकियाे ।
डाेली (तापदानी) पताकाहरुले सजाइयाे । मसकिबिन बजाउँदै केशर अंकल पनि पारी दाेबाटामा देखिए । विवाहमा मसकिबिन बजाउने अंकल अहिले याे धर्तीमा हुनु हुन्न, वहाँलाई श्रद्धासुमन अर्पण गर्न चाहन्छु । बरेती जाने सबै बरेतीहरु तयार भए ।
अब यहाँहरूलाई ब्याैलाकाे बारेमा खुल्दुली पनि भयाे हाेला । सरसफाईमा त म सानै उमेरदेखि ध्यान दिने गर्दथे । कपाल, नङ काटैकै थिएँ । दाह्री जुङ्गा आएकाे थिएन । अहिलेकाे तडकभडक भन्दा त्यतिबेला पक्कै पनि फरक थियाे भन्नमा द्विमत नहाेला ।
सबै कुरा भन्याे भने पाठकहरु हाँस्ने पाे हुन कि या ब्याैलाकाे खिल्ली उडाउने पाे हुन कि भनेर मनमा कता कता संकाेच लागिरहेकाेछ । अहिलेकाे जस्ताे बेहुलाकाे लागि विशेष पाेसाक काेट, पाइन्टकाे खासै चलन थिएन । अब राजालाई एलटी ज्याकेट, बेलीबटन पाइन्ट, ढाका राेपी, खाकीकाे जुत्ता, मुकुट, रिवन चस्मा, घाँटीमा दुबाे र रुपैयाँकाे माला, कम्मरमा सानाे खुकुरी, मुखमा कुरमुली (सिन्दुर, पिठाेबाट निर्मित बुट्टा) छेकेर सजाइयाे ।
म राजाले साच्चिकै ब्याैलाकाे पदवी पाए । त्यतिबेला फाेटाे खिच्न पनि क्यामेराकाे व्यवस्था कहाँ हुनु र हजुर ! गाउँले परिवेश । जन्ती बटिन्या (तयार) बेला महिलाहरु सगुना फाग गाउदै र ब्राह्मण जयदत्त अवस्थी अंकल वेदपाठ सहितकाे मन्त्राेच्चारणले अभिषेक गर्दै ब्याैलालाई बिदाई गर्नु भयाे र अब ब्याैलाे डाेलीमा बसेर मसाकिबिनकाे धूनमा करीब १५० जनाकाे हाराहारीमा बरेती (जन्ती) बुवा, भणरे, पतरे, मुखिया सहितकाे गुल्म (जत्था) दिउँसाे २:०० बजेतिर ब्याैली (बेहुली) जमुनाकाे घर बाराकाे लागि प्रस्थान भयाैं ।
मेराे विवाह गुल्म (जत्था) घरबाट माथि उकालाे छानागैर हरि अंकलकाे घरकाे माथिबाट हुँदै मसकीबिनकाे संगीतमय धुन र वेकुल ( बिगुल) काे मिठाे ध्वनिसंगै माथि उकालाे सचिव अंकलकाे घरबाट हुँदै ठुलीखाली चाैरमा रमाइलो गर्दै पुगियाे । बरेती बिस्तारै कछुवाकाे गतिमा अगाडि सर्दै गरेकाे राेचक दृश्यले साँच्चिकै म ठुलै मान्छे भएछु कि क्या हाे ? मनमनै गदगद भैरहेकाे थिएँ ।
बरेती जाने बाटाे बाटाेमा रामायण, महाभारत, गीताका पुस्तक राखिएका थिए त कतै स्याउला र कतै सल्लाकाे हरियाे पिराेल विछ्याइएको देखिन्थ्याे । कतै बाटाे बाटाेमा महिला दिदीबहिनीहरु सगुना ( सगुन) गाइरहेका थिए । बाटाेमा राखिएका पुस्तक, स्याउला, पिराेलमा गच्छे अनुसार रुपैयाँ पैंसा राख्ने, गुडकाे भेल्ली दिने काम दान सिंह काका (चक्कीवाला) गरिरहनु भएकाे थियाे ।
एवम प्रकारले बरेती (जन्ती) स्याउलेकाे लेक, लाेदयाकाेसैन, ऐरिछाना, बुराैंस्या, जेठीबाैरानीका ढुङ्गा, लटिनाथ मन्दिर जयपूर, चाैपाता हुँदै ब्याैली (जमुना) काे घरकाे माथि लेकमा पुगियाे । लेकबाट तल पाती (बारा) मा मानिसहरुकाे चहलपहल भैरहेकाे देखियाे । बरेतीहरुले एकछिन विश्राम गरेर भाइ रुपेन्द्र लगायतका फुच्चे (केटाकेटी) हरुलाई ब्याैलीकाे घरमा सभ्य तरिकाले प्रस्तुत हुन बुवा लगायतका सिन्याडीका पतरे बाजेले निर्देशित गर्नु भयाे ।
फुच्चेहरुले पनि हँमा हँ मिलायाे र एकछिनकाे विश्राम पछि राजा र प्रजा (जन्ती र बेहुला) हरु ओरालाे जमुनाकाे घरतिर प्रस्थान भयाैं । करिव साँझकाे ७:०० बजेतिर मन्द उज्यालाेमा गैसकाे चहकिलाे प्रकाशकाे साथमा ब्याैलीघर पुगियाे । याे लेख पढ्ने साना बाबु नानीहरुलाई फुच्चे भन्ने शब्दले घाेचेकाे हेपेकाे अनुभूति हुन सक्छ, मायाले फुच्चे शब्द प्रयाेग गरेकाे व्यहाेरा पनि अनुराेध गरे है ।
ब्याैली घर पनि लिपपाेत गरि ध्वजा पताकाले सु-सज्जित बाहिर आगनमा केराका थुम (बाेट) द्वारा निर्मित जग्गे (विवाह मण्डप) मा ब्राह्मण लगायत काे- काे हुन ? सबै सबै थिए । तापदानीमा सवार ब्याैलाे घर आगनकाे छेउमै पुग्दा ब्याैली घरका दुईजना लख्खा जवानले तापदानी काँध हाल्दै जग्गे नजिक पुगायाे र ब्याैली पक्षबाट पनि तादानीमै सवार एकजनाले वरमाला पहिराए ।
तापदानीबाट ओर्लिएपछि जग्गेमा जानु पर्ने हुँदा जुत्ता फुकालियाे र जग्गेमा गए । दुवै पक्षबाट गर्नु पर्ने काम सम्पन्न गरी काेरसाैलामा जानकाे लागि जुत्ता लगाउन खाेजेकाे त जुत्ता त हराइसकेकाे रहेछ । टाउकाेमा कलश बाेकेका साली हुनगइरहेका ५/७ जना साना साना नानीहरु खिल्खिल्ती हाँस्न पाे थाले । अब पर्याे फसाद ! त्यसपछि के भयाे हाेला भन्ने पाठकलाई जिज्ञासा भएमा यस पछिकाे लेखमा उल्लेख गर्ने बाचा गर्दै अहिलेलाई बिट मारे है ।
परम्परागत विवाह भाग-२ (दुई)
याे विवाह संस्मरण भाग - २ पनि मैले सामाजिक सञ्जालमा संप्रेषण त गरि सकेकाेछु । तर यसपटक भने मैले यस लेखमा केही नाैलाेपन ल्याउने तथा थप्नैपर्ने छुटेका कुराहरू पाठक समक्ष पस्कने जमर्काे गरेकाेछु । मैले मेराे विवाहकाे बेलिबिस्तार लगाउँदै जाने क्रममा म बेहुला (राजा) करीब १५० जना जन्ती (बरेती) काे साथमा रङ्ग तमासा सहित बेहुली (रानी) जमुनाकाे माइतीघर पुगेर डाेली पर्छेर काेरसाैलामा जानेबेला जुत्ता हराएर फसाद परेपछि अब के भयाे हाेला त ? भन्ने पाठकहरूकाे जिज्ञासा तथा खुल्दुली भने पक्कै पनि मेटाउने प्रयास गर्नेछु ।
जमुनाकाे माइती पक्षका समाजसेवी एवम् नेता पनि दाइ श्री झुसाल सिंह धामीज्यूले केटाकेटीलाई हकार्दै बेहुलापक्षबाट कलश भेटी राखेपछि जुत्ता फिर्ता गरियाे । बेहुलाकाे जुत्ता हराउनु वा लुकाउनुमा जमुनाका साखाहरूकाे कुनै कुनियत भने थिएन है । जुत्ता लुकाउने त्यहाँकाे परम्परा जस्तै रहेछ । बेहुली पक्षका जमुनाका दाइ अहिले याे धर्तीमा हुनु हुन्न । उहाँकाे बैकुण्ठ बासकाे कामना गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु ।
बेहुला पक्षका बरेतीहरूलाई काेरसाैलामै चियापानले सत्कार गरेपछि करिब रातकाे १०:०० बजेतिर जन्ती बरेतीहरूकाे खाना तयार भयाे । परम्परागत विवाह जस्तै खानापनि परम्परागत नै थियाे । खानाका परिकारहरू के के थिए ? कसले पकायाे ? कसरी बरेतीहरूले खाना खाए भन्ने सन्दर्भ यसपछिकाे भाग - ३ मा उल्लेखगर्ने छु ।
आफू त बेहुला (राजा) भएकाेले विशेष सत्कारका साथ गलैंचा (दन) मा बसेर पलेटी कसेर सेलपुरी, लाउन, हलुवा, केराकाे अचार, काेइरालकाे अचार, तरकारी, सायद बेहुला घरबाट लगिएकै धिनाली (दही) हुनु पर्छ ! मज्जाले भविष्यका सपनाहरू बुन्दै कसैकाे श्रीमान, कसैकाे भेना, कसैकाे ज्वाँई हुने आनन्दानुभूति सहित खाएकाे अहिले पनि स्मरण छ ।
खाना खाएर बरेतीहरू सुत्नकाे लागि काेही तल्लाेघरमा गए, काेही कतै गए त काेही गैसकाे चहकिलाे उज्यालाेमा काेरसाैलामा नै बसेर दहल पगड तास खेल्न थाले सायद ! म बेहुला, सिन्याडी पतरे बाजे, ब्राहमण जयदत्त काका, धरमसिंह दादा, बुवा, दानसिंह काका, दामाेदर अंकल, पुरन प्रधान बाजे, मामा लगायतका ८/१० जना हामी जमुनाकै घरमा सुते ।
सुत्ने व्यवस्था धेरै राम्राे गरेकाे थियाे हाम्राे लागि । भित्र काेठाकाे छेउकाे भकारीकाे माथि गैसकाे चहकिलाे प्रकाशमा सफा बुट्टेदार गलैचा (दन) ओछ्याएकाे र सुकिला सिरक ओड्नकाे लागि व्यवस्था गरिएकाे थियाे ।
यस्ताे राम्राे व्यवस्थापनकाे लागि जमुना र जमुनाका माइतीहरूलाई धन्यवाद नदिइ रहन सक्दैन । बाहिर काेही दाेहाेरी खेल खेल्दैछन्, काेही केहिकाममा व्यस्त छन् भने हामी भने काेलाहलका बाबजुद पनि निदाएछाैं । एक कुरा त भन्नै बिर्सेछु : हामी सुत्ने भकारीकाे छेउमा सलाई र याक चुराेटकाे बट्टापनि राखिएकाे थियाे । सुत्नुभन्दा अगाडि अम्मलीहरूले चुराेट पनि खाँदै गरेकाे दृश्य अहिले पनि मानस पटलमा ताजै छ ।
रातीकाे ३:०० बजेतिर जयदत्त काकाले उठ सबैजना, ४:०० बजेकाे विहेकाे लगन छ भनेर आवाज (डाँकाे) लगाएपछि आँखा मिच्दै हामीहरू उठ्याैं । जग्गे (विवाह मण्डप) मा सबै सरजामहरूकाे व्यवस्थापनकाे काम पनि सकियाे ।
विवाह कर्मकाण्डकाे लागि गाेठ खाली गरेर गाेठमा नै जग्गे बनाइएकाे थियाे । गाेठकाे जग्गेमा गर्ने सबै कर्मकाण्ड बेहुला बेहुली पक्षका ब्राह्मण तथा आपन्तहरूले वाडाेबाट नै बेहुला बेहुलीकाे देखाभेट नभइकनै बेहुलीकाे हातकाे बुढी औंला समात्ने, बेहुलीले बेहुलाकाे खुट्टा धुने, जुठाे खाने खुवाउने, गरगहना लगाउने लगायतका सबै कर्महरू एकैछिनमा सकेर बाहिर विवाह मण्डपमा विहेकाे लागि सराेकारवाला सबैजना आयाैं ।
विवाह मण्डपमा बेहुला बेहुली (जमुना) ...
गाेठ भित्रकाे बिहेकाे कर्मकाण्ड सकेर राजा (बेहुला) कमिज, पाइन्ट, एलटी जाकेट, खाकीकाे जुत्ता, कम्मरमा सानाे खुकुरी भिरेकाे, घाँछीमा दुबाे र रुपैयाँको माला, ढाकाकाे टाेपी, रिवन चश्माद्वारा सुसज्जित राजा र गरगहना, साडी ब्लाउज, राताे सुइटर, राताे चमकदार घुम्टाेद्वारा सजिएकि लजालु स्वभावकी बेहुली जमुनालाई दुबै पक्षका प्रजाहरूले राजा र जमुनालाई एक अर्काेबाट नछुट्टिने गरेर व्यसाडाे (बेहुला र बेहुलीले कम्मरमा बाध्ने करिब अढाई तीन मिटर लामाे कपडा) ले तयार पारे पछि सबैजना बाहिर विवाह मण्डपमा भेला भए । विहे हेर्नकाेलागि साली हुनैलागेका जुत्ता लुकाउने जमुनाका साँखाहरू लगायत धेरै जनाकाे उपस्थिति भयाे ।
विवाह मण्डपकाे सजावट सम्बन्धी पनि थाेरै चर्चागर्नु सान्दर्भिक हुन्छ । मण्डपकाे चारकुनामा चारवटा केराका थुम गाडिएका थिए । राताे, हरियाे, पहेंलाे, सेताे, कालाे रङ्गद्वारा निर्मित झट्ट हेर्दा दन (गलैंचा) जस्तै देखिने बुट्टेदार बेती, बेतीकाे माथि झुल चन्दन लगाएकाे र मण्डपकाे चारैतिर रङ्गीचङ्गी ध्वजा पताकाहरूले सिङ्गारेकाे थियाे ।
विवाह मण्डपकाे चारैतिर तल पराल बिछाएर माथि रङ्गीबिरङ्गगी दनहरू गैसकाे चहकिलाे प्रकाशमा मनमाेहक र आकर्षक देखिएकाे थियाे । दनहरूकाे बाहिर मण्डपकाे चारैतिर बेहुला बेहुलीले परिक्रमा गर्नकाेलागि ठाउँ छाेडेर लामवद्ध भएर दर्शकहरू उभिएका थिए । विवाह मण्डपमा राजा र जमुनाकाे विवाहकाे पूर्ण तयारी !
परम्परागत विवाह भाग-३ (तीन)
गरगहना र विहे पाेशाकमा रहेका दुलाहा दुलहीकाे लागि विवाह मण्डपकाे एकछेउमा राम्राे बुट्टेदार दनकाे आसन वनाइएकाे थियाे । गाेठ भित्र गरिने सम्पूर्ण कर्मकाण्ड सकेर ब्यासाडाेमा बाधिएका हामी राजा रानी शंख घन्टकाे माङ्गलिक ध्वनीसंगै बेदीमा प्रज्वलित अग्नीकाे चारैतिर सुल्टाे (दाहिने हात बेदीतर्फ पर्नेगरी) परिक्रमा गराएर पूर्वाभिमुख बस्न लगाइयाे ।
उक्त आसनमा राजा र जमुनालाई बस्न भनियाे र हामी पनि थचक्क बस्याैं । दुलाहा दुलहीकाे छेउमा ब्राह्मण जयदत्त अंकल र जमुनाकाे माइती पक्षका ब्राह्मण मण्डपकाे अर्काे पट्टी बसे । राजाका बरेतीमा आएका जन्ती (बरेती) दाैंतरीहरू र जमुनाका दाैंतरीहरू पनि दुलाहा दुलहीकाे नजिकमै बसेर एक अर्काेमा जिस्किने, हाँसाेठट्टा गर्ने लगायतका कुराहरू भइरहेका थिए ।
अब हामी वरवधुलाई गणेश, कलश, ब्राह्मण, अग्नि र जन्ती (बरेती) हरूलाई साक्षी राखेर वेदीकाे वरिपरि हातमा धानकाे लाभा (लया) सहित व्यासाडाेमा बाधिएका हामी राजारानीले राजाले रानीकाे कुममा दुबैहात राखेर र बेहुली रानीले हातमा लयाकाे दुनाेलाई दुबैहातले छर्छर निफन्दै गर्दै पाँचपटक परिक्रमा गर्न लगाइयाे र हामीले पनि निर्देशानुसार सबै काम गर्याैं । परिक्रमागर्दा जमुनाकाे भाइ/दाइले धानकाे लाभा सहितकाे टाेकरी हातमा समाइ दिन्छन् । ब्राह्मणले पनि मन्त्राेच्चारण सहित अग्नीमा हवन गर्दछन् ।
विवाह मण्डपमा वेदीकाे वरिपरि पाँचपटक परिक्रमा गरिसकेपछि मण्डप छेउमा एउटा टपरी (दुनाे) मा सातवटा बत्ती बालेकाे थियाे । एक प्रज्वलित बत्तीलाई अलग राखेर बाँकि छवटा बत्ती एकैपटक निभाउन बेहुली जमुनालाई ब्राह्मण जयदत्त काकाले निर्देशन दिनु भयाे र जमुनाले पनि सात कदम अगाडि हिडेर साेही अनुसार बत्ती एकैचोटी निभाउनु भयाे ।
एकैपटक बत्ती निभाएकाे देख्दा दर्शक बरेतीहरूले ताली बजाएकाे गडगडाहट आवाजकाे अहिले पनि ताजा स्मरण छ । बाँकी अलग राखेकाे बत्तीकाे फूल अक्षताले पूजन गर्न निर्देशन भयाे ब्राह्मण काकाबाट । साे काम पनि सम्पन्न भयाे । बत्ती निभाउनुकाे कारण के रहेछ त भन्ने पाठककाे जिज्ञासामा उक्त बत्ती निभाएपछि अर्की साैता भित्रीदैन भन्ने धार्मिक मान्यता रहेछ ।
बत्ती निभाउने काम सम्पन्न भएपछि बेहुली जमुनाकाे घुम्टाे उघारेर कपालमा तेल हाल्न र काइयोले काेर्नु भन्ने ब्राह्मण पक्षबाट निर्देशन भयाे र निर्देशानुसार साे काम पनि पूरा गरे । यसरी मैले बेलीबिस्तार लगाउने क्रममा निर्देशानुसार नै कपाल काेरे, तयार पारिएकाे सेताे सिन्दुर पाटाेमा सिउँदाेमा सिन्दुर हाले र सिन्दुरकाे टीका स्वयम् पनि लगाए ।
एवम् प्रकारले मैले बेहुली जमुनालाई आफ्नाे खल्तीबाट केही पेवाधन पनि दिए । साथै मैले मायाले बाेलाउने निजी नाम पनि राखे "जमुना" । मैले पेवाधनकाे रुपमा दिएकाे रु. ५००/= अहिले पनि जमुनाले आफ्नाे पुरानाे पर्समा सुरक्षित राखेकी छे भन्दा पाठकज्यूहरूलाई पत्यार लाग्छ कि लाग्दैन । तर रु. ५०० ( पाँचसय) अहिलेसम्म पनि सुरक्षित राखेकाे देख्दा अचम्मित भने पक्कै पनि छु ।
जमुनाले गुडकाे तीन भाग लगाइन । एकभाग आफ्नाेलागि, एकभाग मेराेलागि र एकभाग अतिथिहरूकाे लागि । आफूले खाइन, मलाई पनि खुवाइन र एक अर्काेकाे जुठाे गुड खाने खुवाउने काम पनि सम्पन्न भयाे । म राजा र जमुना उभियाैं र जमुनाकाे पछाडि राजा पनि टाँसिएर ५/७ पाइला पछाडी सर्याैं ।
राजा र जमुनालाई मेराे अति नै मिल्ने साथी जस्तै नाताले अंकल सँगै पढ्ने गाेविन्द अंकलले हामीलाई अँगालाेमा अठ्याउँदै ध्रुवताराकाे अवलाेकन गराउँदै जमुनाले दुनामा राखिएको धानकाे लया आकाश तर्फ फालिन र अंकलले जाेरले भूईँमा पछार्नु भयाे । दर्शकहरूबाट तालीकाे गडगडाहट आवाज सहित ध्रुव तारा अवलाेकन गर्ने काम पनि सम्पन्न भयाे । यसरी राजा र जमुनाकाे विवाह सम्पन्न गर्नमा सघाउने सम्पूर्णलाई हार्दिक धन्यवाद सहित नमन गर्दछु ।
परम्परागत विवाह भाग - ४ (चार)
सबै जन्ती बरेतीहरूलाई साक्षी राखेर जमुनाकाे सिउँदाेमा सिन्दुर हालि विवाहमण्डपमा विधि विधान सम्मत तरिकाले पाँचपटक परिक्रममा गरेर सबै काम सम्पन्न भइसकेपछि अब जमुना मेरी भइन र म उनकाे भए । साली हुनैलागेका जुत्ता चाेरहरु पनि नाताले साली भए । अब भने राजा साँच्चिकैकाे भिनाजु भए । काेही जेठान त काेही साला ! सासुससुरा सबै भए ।
विवाह मण्डपकाे विवाहकाे समापन पछि बिहान २०४६ साल मंसिर १८ गते शुक्रबार बिहानकाे घामकाे किरणसँगै राजा रानी सहित जन्ती बरेतीलाई पठाउने सुरसार हुन थाल्याे ।
हिजाे जन्तीकाे आगमन जस्तै काेही भतेडीमा आगाे बालिरहेका छन् त काेही फाेंला (तामाकाे गाग्राे) मा पानी भरी रहेका देखिन्छन् । चर (तामाकाे ठुलाे ताउलाे) मा चामल हालेर पखाली रहेका देखिन्छन् । परम्परागत विवाह जस्तै खाना पनि परम्परागत नै हाे । काेही सिलाेटमा मसला पिस्दैछन् ।
एकैछिनमा दालभात तरकारी तयार भयाे । जमुनाका माइती घरमा आमन्त्रित सबै र बेहुला राजाका प्रजा (बरेती) हरूले पनि खाना खानु भयाे । एलटी जाकेट, बेलीबटन पाइन्ट, ढाका टाेपी, घाँटीमा दुबाे र रुपैयाँकाे माला, कम्मरमा खुकुरी भिरेकाे बेहुला राजा र घाँटीमा गलाेबन्द र चरेवा पाेते, नकवाली बुलाकी, फुली, हातमा पाउजी र खुट्टामा पैंडा साडी ब्लाउज र सुइटरमा सुसज्जित घुम्टाे भित्र लुकेकी लजालु स्वभावकी बेहुली जमुनालाई बेहुला घर पठाउने तयारी हुन थाल्याे ।
दिउँसाे करीब १२:०० बजेसम्म सबैले खाना खाइसकेकाे हुनु पर्दछ सायद ! जन्ती बरेतीहरू, ससुराली पक्षका सबै आमन्त्रित गाउँले तथा अन्य इष्टमित्रहरू जमुनाकाे माइतीघर बाराकाे आगनमा एकत्रित भए । राजा र जमुनाकाे तापदानी ध्वजा पताका (पतङ्ग) हरूले सजाइयाे । एकछिन पछि मसाकीविन बजाउने केशर अंकल पनि बिचमा टुप्लुक्क आइपुग्नु भयाे ।
करीब एक घण्टा जति उहाँले सङ्गितमय धुनमा मसाकीविन बजाउनु भयाे । दर्शकहरू मन्त्रमुग्धभएर मसाकीविनकाे धुनमा मस्त छन् भने काेही नाची रहेका देखिन्छन् । कृष्णकाे मुरली धुन जस्तै मसाकीविनकाे धुनमा मस्त बरेतीहरू काेही केशर अंकलकाे टाेपीमा रुपैयाँका नाेट राखिरहेका छन् भने काेही टाेपी तलबाट रुपयाँ छिराइ रहेका छन् । सबै तयारी गर्दागर्दै दिउँसाेकाे करीब ३:०० बजी सकेकाे हुनु पर्दछ । अब जन्तीलाई विदाइ गर्ने कार्यक्रमकाे सुरुवात हुँदैछ ।
परम्परागत विवाह भाग - ५ (पाँच)
राजा र जमुनालाई बेहुला घर पठाउने तयारी भइरहेकाे छ । बेहुला पक्षका बरेतीहरूलाई टीका र दक्षिणा ग्रहणकालागि आमन्त्रण गरिन्छ । बरेतीहरू पालैपालो भित्र गएर काेही अक्षता सहितकाे राताे टीका लगाउदै खल्तीमा लिफापा च्याप्दै बाहिर आइरहेका र काेही टीका लगाउन भित्र गइरहेका देखिन्छन् ।
एकैछिनमा टीकाटालाेकाे काम सम्पन्न हुन्छ । ध्वजा पताकाले सुसज्जित तापदानीमा राजा र जमुनालाई बसाइयाे । मसाकीविनकाे सङ्गितमय धुनमा जन्तीबरेतीहरू लामवद्धभएर बाराबाट उकालाेतर्फ लागे । जमुनाकाे स्याक्कु स्याक्कु, हींहींहींकाे राेदनले आँखा नरसाएका भने हाेइन । बिस्तारै जन्ती कछुवाकाे गतिमा अगाडि बढ्दै माथि उकालाेमा पुग्छ । राजाकाे घरबाट आउँदा उकालाे चढे जस्तै जमुनाकाे घरबाट आउँदापनि उकालाे नै चढ्नु पर्ने रहेछ ।
हाम्राे विवाह जत्था घरबाट माथि उकालाे हुँदै माथि लेकमा मसाकीविनकाे संगीतमय धुन र वेकुल ( बिगुल) काे मिठाे ध्वनिसंगै अगाडि बढ्दै जान्छ । बरेती बिस्तारै कछुवाकाे गतिमा अगाडि सर्दै गरेकाे राेचक दृश्यले साँच्चिकै म ठुलै मान्छे भएछु कि क्या हाे ? मनमनै गदगद भैरहेकाे थिएँ । बरेती जाने बाटाे बाटाेमा रामायण, महाभारत, गीताका पुस्तक राखिएका थिए त कतै स्याउला र कतै सल्लाकाे हरियाे पिराेल विछ्याइएको देखिन्थ्याे । कतै बाटाे बाटाेमा महिला दिदीबहिनीहरु सगुना (सगुन) गाइरहेका थिए ।
बाटाेमा राखिएका पुस्तक, स्याउला, पिराेलमा गच्छे अनुसार रुपैयाँ पैंसा राख्ने, गुडकाे भेल्ली दिने काम दान सिंह काका (चक्कीवाला) गरिरहनु भएकाे थियाे । एवम् प्रकारले बरेती (जन्ती) चाैपाता, जयपुर, जेठीबाैरानीका ढुङ्गा, बुराैंस्या, ऐरीछाना, लाेदेकाे सैन, स्याउले, ठुलीखालीहुँदै बेलुकी ८:०० बजेतिर माथि सचिव अंकलकाे घरनेर पुगियाे ।
काेही भतेडीमा हलुवा पकाई रहेका छन् त काेही केही अन्य काम गरिरहेका देखिन्छन् । करिब ८:१५ बजेतिर जन्ती बेहुला घरमा पुग्याे । जमुनालाई भित्र्याउनकाेलागि ढाेकाकाे देलीमा ब्राह्मण जयदत्त अंकलले मन्त्राेच्चारणसहित केही कर्महरू गरे । इजा, काकी, ठुलीइजा, लगायतका जमुनाका सासुहरूले केही कामहरू जमुनासँग गरेकाे देखिन्थ्याे । आमन्त्रितहरू सबैलाई खाना खुवाउने लगायतका कामहरू सम्पन्न भए । यसपछिकाे भाग - ६ मा जमुनासँगकाे भलाकुसारी उल्लेख गरिनेछ ।
मान सिंह धामी (भाैनबाटी)
(उप-प्राध्यापक ) सुदूरपश्चिम विश्वविद्यालय,कैलाली बहुमुखी क्याम्पस, धनगढी ।
स्थायी ठेगाना : मालिकार्जुन गाउँपालिका हुनैनाथ - ४ गाेठ्युडी (काेटबुङ्गा), दार्चुला।