संसद शपथअघि राप्रपा सांसदको पशुपतिनाथ दर्शन
काठमाडौँः राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसदहरूले संसदमा शपथ ग्रहण गर्नुअघि पशुपतिनाथ मन्दिरमा पुगेर दर्शन गरेका छन्। बिहीबार बिहान संसदीय दलका नेता ज्ञानेन्द्र शाहीसहित सांसदहरू खुश्बु ओली, भरत गिरी र सरस्वती लामाले पूजा–अर्चना गरेका हुन्।
दर्शनपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेता शाहीले आफूहरू कुनै पनि गलत कार्य नगर्ने प्रतिबद्धतासहित भगवान् पशुपतिनाथसँग प्रार्थना गर्न आएको बताए। उनले जानेर वा नजानेर गल्ती नहोस् भन्ने कामनाका साथ दर्शन गरिएको उल्लेख गरे।
शाहीले आगामी दिनमा संसदमार्फत हिन्दू राष्ट्र पुनःस्थापना गर्ने लक्ष्यसहित अघि बढ्ने स्पष्ट पारे। उनले सोही अठोटका साथ आफूहरू संसदमा सक्रिय रहने बताए।
राप्रपाले लामो समयदेखि नेपाललाई पुनः हिन्दू राष्ट्र घोषणा गर्नुपर्ने माग उठाउँदै आएको छ। सोही एजेन्डालाई अगाडि बढाउने प्रतिबद्धतासहित सांसदहरूले संसद प्रवेशअघि धार्मिक आस्थासँग जोडिएको स्थलमा पुगेर आशीर्वाद लिएका हुन्।
पार्टीले उक्त धार्मिक भ्रमणलाई आफ्नो राजनीतिक प्रतिबद्धता र लक्ष्यसँग जोडेर व्याख्या गरेको छ।