सुदूर नेपाललाई विश्वसँग जोड्दै

नयाँ अनुहारले भरिएको संसद्, सीमित मात्र पुराना सांसद दोहोरिए

२०८२ चैत्र १२, ०४:३२ रासस

काठमाडौंः आज प्रतिनिधिसभा सदस्यहरूले पद तथा गोपनीयताको शपथ लिँदै गर्दा सदनमा अधिकांश नयाँ अनुहार देखिने भएका छन्। फागुन २१ गते सम्पन्न निर्वाचनबाट निर्वाचित धेरैजसो सांसद पहिलो पटक संसद् प्रवेश गर्दैछन् भने केही सीमित नेताहरू मात्र पुनः निर्वाचित भएका छन्।

यस पटकको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेकपा लगायतका केही दलका शीर्ष नेतृत्वबाहेक अन्य दलका धेरै शीर्ष नेताहरू सदनबाहिरै रहेका छन्।

रास्वपाबाट निर्वाचित १८२ सांसदमध्ये १४ जना मात्र दोहोरिएका छन्। पार्टी सभापति रवि लामिछाने, उपसभापतिद्वय डोलप्रसाद अर्याल र डा. स्वर्णिम वाग्ले सहित इन्दिरा राना मगर, डा. अमरेशकुमार सिंह, सोविता गौतम, शिशिर खनाल, गणेश पराजुली, हरि ढकाल, अशोककुमार चौधरी, विराजभक्त श्रेष्ठ, निशा डाँगी, मनिष झा र डा. तोसिमा कार्की पुनः निर्वाचित भएका हुन्।

नेपाली कांग्रेसका ३८ निर्वाचित सांसदमध्ये आठ जना दोहोरिएका छन्। त्यस्तै नेकपा (एमाले)का २५ सांसदमध्ये सात जना र नेकपाका १७ मध्ये पाँच जना पुनः निर्वाचित भएका छन्।

राप्रपाबाट निर्वाचित पाँच सांसदमध्ये ज्ञानेन्द्रबहादुर शाह मात्र दोहोरिएका छन्, जो सो पार्टीबाट प्रत्यक्ष निर्वाचित एक मात्र सांसद हुन्।

समग्रमा, नयाँ अनुहारको बाहुल्यसँगै संसद्को संरचना यसपटक उल्लेखनीय रूपमा फेरिएको देखिन्छ।
 

कमेन्ट लोड गर्नुस