सुदूर नेपाललाई विश्वसँग जोड्दै

‘सिलाम साक्मा’मा सजिएर बालेनको शपथ

२०८२ चैत्र १२, ०४:३९ रासस

काठमाडौँ: सिंहदरबारस्थित संघीय संसद् भवन परिसर आज नवनिर्वाचित सांसद, सुरक्षाकर्मी, सञ्चारकर्मी र सहयोगीहरूको बाक्लो उपस्थितिले व्यस्त देखिन्थ्यो। प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि शपथका लागि आएका सांसदहरूबीच चिनजान, बधाई आदानप्रदान तथा सञ्चारकर्मीसँग प्रतिक्रिया दिने क्रम चलिरहेको थियो।

संघीय संसद् सचिवालयले अपराह्न २ बजेका लागि शपथ समारोह आयोजना गरेको थियो। विभिन्न वेशभूषामा सजिएका सांसदहरू समयअघि नै संसद् भवन पुगेका थिए। समारोहको समय नजिकिँदै जाँदा सबैको ध्यान भवनको दक्षिण प्रवेशद्वारतर्फ केन्द्रित थियो।

अपराह्न करिब १ः५५ बजे राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) सवार बा.प्र ०१ ०३३ च ७८८१ नम्बरको निजी गाडी संसद् भवनको मूल प्रवेशद्वारमा रोकियो। गाडीबाट ओर्लिएपछि उनी सञ्चारकर्मीहरूको घेरामा परे।

सुरक्षाकर्मीको सहयोगमा उनलाई बहुउद्देश्यीय हलतर्फ लैजाँदा केही समय व्यवस्थापन गर्न कठिन भयो। उपस्थितहरूले ‘बालेन सरकार’ भन्दै अभिवादन गर्दा उनी मुस्काउँदै समारोह स्थलतर्फ अघि बढे।

कालो कोटमा किराँती संस्कृतिको प्रतीक ‘सिलाम साक्मा’ लगाएर उनी शपथ समारोहमा सहभागी भए। ‘सिलाम साक्मा’लाई सुरक्षा र शुभ संकेतको प्रतीकका रूपमा लिइन्छ।

समारोहमा उनी बैठक कक्षको पहिलो पंक्तिमा बसे। उनको दायाँतर्फ सभापति रवि लामिछाने र बायाँतर्फ उपसभापतिद्वय डोलप्रसाद अर्याल तथा डा. स्वर्णिम वाग्ले थिए।

संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले नवनिर्वाचित सांसदहरूलाई स्वागत गरे भने ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले शपथ गराए।

शपथ सम्पन्न भएपछि नेता शाह आफैं गाडी चलाउँदै संसद् भवनबाट बाहिरिए।

झापा क्षेत्र नं. ५ बाट निर्वाचित शाहलाई राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्रीका रूपमा प्रस्ताव गरेको छ। पार्टीले उनलाई संसदीय दलको नेतामा चयन गर्ने तयारी गर्दै आजै बैठक बोलाएको छ।

विसं २०७९ को स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रूपमा काठमाडौं महानगरपालिकाको प्रमुख बनेका शाह युवापुस्ताबीच लोकप्रिय छन्। पेशाले स्ट्रक्चरल इन्जिनियर रहेका उनी चर्चित ‘र्‍यापर’का रूपमा पनि परिचित छन्।
 

कमेन्ट लोड गर्नुस