समयबद्ध कार्ययोजना बनाएर काम गर्न ऊर्जामन्त्री श्रेष्ठको निर्देशन
काठमाडौँ: ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जनताले प्रत्यक्ष रूपमा महसुस गर्ने गरी सेवा प्रवाह सुधार गर्न निर्देशन दिएका छन्।
आज मन्त्रालयको उच्च नेतृत्वसँगको बैठकमा उनले सेवा प्रवाहलाई अझ प्रभावकारी, पारदर्शी र नागरिकमैत्री बनाउन जोड दिएका हुन्। ऊर्जा क्षेत्रको दिगो विकास, जलस्रोतको उचित उपयोग तथा सिँचाइ विस्तारमार्फत कृषि उत्पादन वृद्धि गर्ने सरकारी लक्ष्य पूरा गर्न स्पष्ट कार्ययोजना, समयमै कार्यान्वयन र जिम्मेवार कार्यशैली आवश्यक रहेको उनको भनाइ छ।
मन्त्री श्रेष्ठले मन्त्रालयभित्र समन्वय, अनुशासन र परिणाममुखी कार्यसंस्कृति विकास गर्नुपर्ने आवश्यकता पनि औँल्याएका छन्। कर्मचारीले आफ्नो जिम्मेवारीप्रति प्रतिबद्ध, इमानदार र उच्च मनोबलका साथ काम गर्नुपर्ने उनले बताएका छन्।
ऊर्जा क्षेत्रमा आत्मनिर्भरता हासिल गर्न सबै पक्ष एकजुट हुनुपर्ने उल्लेख गर्दै उनले चुनौतीलाई अवसरका रूपमा रूपान्तरण गर्दै नीति, योजना र कार्यान्वयनबीच प्रभावकारी समन्वय कायम गर्नुपर्नेमा जोड दिएका छन्। साथै, मन्त्रालयको समग्र कार्यक्षमता अभिवृद्धि गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन्।