महाकाली पुलः ‘गाइडबन्ड’को परिवर्तित ढाँचा स्वीकृत नहुँदा निर्माण प्रभावित
महेन्द्रनगर: कञ्चनपुरको महाकाली नदीमा निर्माणाधीन चार लेनको पक्की पुल र सम्बन्धित संरचनाको काम ‘गाइडबन्ड’ (बाँध) को परिवर्तित ढाँचा स्वीकृत नहुँदा प्रभावित बनेको छ।
दुई वर्षअघि सम्पन्न गर्ने लक्ष्यसहित तीव्र गतिमा अघि बढाइएको आयोजना गत वर्ष आएको बाढीपछि जटिल बनेको हो। बाढीले पुलको गाइडबन्डमा क्षति पुर्याएपछि पुनः डिजाइन गर्नुपर्ने अवस्था आएको थियो। सोही परिवर्तित ढाँचा स्वीकृत हुन नसक्दा निर्माण प्रक्रिया अघि बढ्न सकेको छैन।
महाकाली पुल आयोजना कार्यालयका प्रमुख नेत्र देवकोटाका अनुसार पुलको उत्तरतर्फको गाइडबन्ड महाकाली नदीले भत्काएपछि गत जेठ–असारमा नेपाली सेनाले अस्थायी संरचना बनाएर थप क्षति हुनबाट जोगाएको थियो। अहिले स्थायी रूपमा पुनर्निर्माण गर्न ढाँचा परिवर्तन गरिएको भए पनि स्वीकृति नआएकाले काम रोकिएको उनले जानकारी दिएका छन्।
बाढी जोखिम न्यूनीकरणका लागि अघिल्लो सरकारले क्षेत्रलाई सङ्कटग्रस्त घोषणा गरी तीन महिनासम्म गाइडबन्ड निर्माणको जिम्मा नेपाली सेनालाई दिएको थियो। अब परिवर्तित ढाँचा स्वीकृत भएपछि पुरानै निर्माण कम्पनीलाई निरन्तरता दिने वा नयाँ ठेक्का प्रक्रिया अघि बढाउने विषयमा निर्णय गरिने आयोजना पक्षले जनाएको छ। ढाँचा स्वीकृतिका लागि सम्बन्धित निकायसँग निरन्तर पहल भइरहेको छ।
सुरुमा गाइडबन्ड निर्माणका लागि २५० किलोभन्दा बढी तौलका ढुङ्गा प्रयोग गर्ने योजना थियो। तर आवश्यक परिमाणमा ठूला ढुङ्गा उपलब्ध नभएपछि डिजाइन परिवर्तन गरिएको हो। संशोधित योजनाअनुसार पोखरीतर्फ ग्राभेल र नदीतर्फ कटान रोक्न ‘प्लम कङ्क्रिट’ प्रयोग गरिएको छ।
निर्माणको जिम्मा पाएको कुमार श्रेष्ठ–सिएफइसी जेभीका इञ्जिनियर किशोर पाण्डेका अनुसार भेरिएसन अर्डर स्वीकृत नहुँदा काम प्रभावित भएको हो। उनका अनुसार आवश्यक प्रक्रिया अघि बढाउन सम्बन्धित निकायसँग अनुरोध गरिए पनि सुनुवाइ नभएकाले कम्पनीले ठेक्का तोड्ने प्रक्रिया सुरु गरिसकेको छ।
उनले समयमै भेरिएसन अर्डर स्वीकृत भई बजेट उपलब्ध भएको भए पुल निर्माण सम्पन्न भइसक्ने दाबी गरे। तोकिएको समयभित्र काम सक्न वातावरण बनाउन आग्रह गर्दा पनि अपेक्षित सहयोग नपाएको उनको भनाइ छ।
पुलका दुवैतर्फ करिब दुई हजार ६०० मिटर लम्बाइका पोखरीसँगै गाइडबन्ड निर्माण गर्नुपर्ने छ। तीन अर्ब ६६ करोड रुपैयाँ लागतको यो आयोजना विसं २०७४ भदौ दोस्रो साता सुरु गरिएको थियो।
पुल क्षेत्रलाई पर्यटकीय स्थलका रूपमा विकास गर्ने उद्देश्यले दुवैतर्फ पोखरी निर्माण गरिएको छ। उत्तरतर्फ एक वर्गकिलोमिटरभन्दा ठूला दुई वटा र दक्षिणतर्फ करिब ०.३ वर्गकिलोमिटरका दुई वटा पोखरी निर्माण भइरहेका छन्। तर ढाँचा स्वीकृतिमा ढिलाइ हुँदा गाइडबन्ड तथा पोखरीभित्रका संरचनाको काम रोकिएको छ।
हालसम्म आयोजनाको वित्तीय प्रगति ९३.२५ प्रतिशत र भौतिक प्रगति ९५ प्रतिशत पुगेको निर्माण कम्पनीले जनाएको छ।