बैतडीका पाटन र सुर्नयामा निःशुल्क प्रजनन स्वास्थ्य शिविर
दशरथचन्द (बैतडी): बैतडीका पाटन नगरपालिका र सुर्नया गाउँपालिकामा निःशुल्क प्रजनन स्वास्थ्य शिविर सञ्चालन भइरहेको तथा सञ्चालनको तयारी गरिएको छ।
ग्रामीण क्षेत्रका महिलालाई लक्षित गर्दै प्रजनन स्वास्थ्यसम्बन्धी सेवा उपलब्ध गराउने उद्देश्यले शिविर आयोजना गरिएको हो। पाटन नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मदनसिंह महराका अनुसार केही स्वास्थ्य संस्थामा शिविर सम्पन्न भइसकेको छ भने अन्य स्थानमा सञ्चालनको तयारी भइरहेको छ।
उनका अनुसार सोमबार सिलङ्गा स्वास्थ्यचौकी र मङ्गलबार भूमेश्वर स्वास्थ्यचौकीमा शिविर सञ्चालन हुने छ।
शिविरमा पाठेघर खस्ने समस्याको जाँच, उपचार र परामर्श, पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ, स्तन क्यान्सर जाँच, प्रसूति फिस्टुला स्क्रिनिङ, तल्लो पेट दुख्ने तथा सेतो पानी बग्ने समस्याको उपचार सेवा प्रदान गरिनेछ। साथै परिवार नियोजनका लागि दीर्घकालीन साधन (इम्पलान्ट) राख्ने र महिलाको निःशुल्क अल्ट्रासाउण्ड सेवा समेत उपलब्ध गराइनेछ।
यसैबीच, सुर्नया गाउँपालिकामा आइतबारदेखि प्रजनन स्वास्थ्य शिविर सुरु भइसकेको छ। आज भूमिराज आधारभूत स्वास्थ्य सेवा केन्द्रमा शिविर सञ्चालन गरिएको छ।
स्वास्थ्य शाखा प्रमुख रामसिंह महराका अनुसार चैत १६ गते शिखरपुर स्वास्थ्यचौकी, १७ गते शङ्करपुर स्वास्थ्यचौकी, २० गते रौलेश्वर स्वास्थ्यचौकी र २१ गते भौनेली स्वास्थ्यचौकीमा शिविर सञ्चालन गरिनेछ।