सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रवेश तयारी कक्षा र ब्रिज कोर्समा प्रतिबन्ध

२०८२ चैत्र १५, ०८:०९ खबर संवाददाता

काठमाडौं: शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय ले देशभर सञ्चालन हुँदै आएका प्रवेश तयारी कक्षा र ब्रिज कोर्सहरूमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ।शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिका अनुसार, विद्यालय तह तथा उच्च शिक्षाका विभिन्न तहमा भर्ना प्रक्रिया सुरु हुनु अघि नै निजी तथा अन्य संस्थाहरूले प्रवेश तयारी कक्षा र ब्रिज कोर्स सञ्चालन गर्दै आएको पाइएकाले यस्तो निर्णय लिनु परेको जनाएको छ।

यस्ता कार्यक्रमहरूले विद्यार्थीहरूको मनोविज्ञानमा नकारात्मक प्रभाव पार्नुका साथै अभिभावकहरूमा अनावश्यक आर्थिक भार थपिएको मन्त्रालयको निष्कर्ष छ।

मन्त्रालयका अनुसार आगामी २०८३ साल बैशाख १ गतेदेखि यस्ता सबै कार्यक्रमहरू पूर्ण रूपमा बन्द गरिनेछ। निर्णयको अवज्ञा गर्ने संस्थाहरूलाई प्रचलित कानुनअनुसार कडा कारबाही गरिने चेतावनी पनि दिइएको छ।

यस निर्णयको प्रभावकारी कार्यान्वयनका लागि सम्बन्धित निकाय तथा जिल्ला प्रशासन कार्यालयहरूलाई अनुगमन तथा आवश्यक कदम चाल्न निर्देशन दिइएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटा ले सबै सरोकारवालालाई उक्त निर्णय पालना गर्न आग्रह गरेका छन्।

कमेन्ट लोड गर्नुस