सुदूर नेपाललाई विश्वसँग जोड्दै

काँग्रेसमा किचलोः संस्थापन र देउवा पक्षका समानान्तर गतिविधि

२०८२ चैत्र १६, ११:४२ खबर संवाददाता

काठमाडौँः नेपाली काँग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमिति बैठक बोलाएका छन्।

पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेपछि कार्यवाहक सभापतिको हैसियतमा वक्तव्य जारी गरेका खड्काले मंगलबार तत्कालीन केन्द्रीय कार्यसमिति बैठक बोलाएका हुन्।

बैठक मंगलबार बिहान ११ बजे धुम्बाराहीमा बस्ने देउवा पक्षका एक नेताले जानकारी दिए। उनका अनुसार बैठकलाई निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले नेतृत्व गर्ने छन्।

समूहमा नेता शेखर कोइराला पक्षा पनि सहभागी हुने एक नेताले जानकारी दिए । ​

यसँगै पार्टी बैठकका नाममा समानान्तर बैठक राख्ने र एकै विषयमा फरक-फरक विज्ञप्ति निकाल्ने हदसम्म काँग्रेस पुगिसकेको छ। २१ फागुनको निर्वाचनको पराजयबारे समीक्षा गरी नसक्दै काँग्रेस विभाजनको तहसम्मै पुग्ने गरी आन्तरिक संघर्ष र किचलोको मच्चिएको हो।

पार्टी आधिकारिकता विवाद सर्वोच्च अदालतमा विचाराधीन छ। २७ देखि ३० पुसमा विशेष महाधिवेशन गरेर थापा नेतृत्वको समिति हाल अस्तित्वमा छ।

तर संस्थापन पक्षसँग असन्तुष्ट देउवा पक्षबाट पूर्णबहादुर खड्का र शेखर कोइरालाले सामानान्तर गतिविधि अगाडि बढाएका छन्।

तर‚ अनाहकमा आफूहरूलाई पार्टीबाट निकाल्ने स्थिति बनेको र शक्तिविहीन बनाएको भन्दै असन्तुष्ट बनेको देउवा समूहले सभापति थापा र वर्तमान केन्द्रीय नेतृत्वलाई काँग्रेसको नेतृत्व मानेकै छैन। निर्वाचनको समयमा मत्थर बनाएर तत्कालका लागि विवाद थाती राखिएको थियो । तर‚ निर्वाचन सम्पन्न भएर नतिजा आइसकेपश्चात् असन्तुष्ट समूहले थापा नेतृत्वको समूहलाई कुनै पनि हालतमा नस्वीकार्ने भनेको छ।

असन्तुष्ट समूहले समानान्तर गतिविधिलाई संस्थापन समूहले ‘नोटिस’मा राखेको छ। असन्तुष्ट समूहले निरन्तर समानान्तर गतिविधि गरे पार्टी गम्भीर संकटमा पर्ने भन्दै सभापति गगन थापा र उनको टीममा रहेका केन्द्रीय पदाधिकारी छलफलमा जुटेका छन्।

यसैबारे छलफल गर्न काँग्रेसले केन्द्रीय अनुशासन समितिको बैठक आह्वान गरेको छ। पार्टीका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले आइतबार साँझ विज्ञप्तिमार्फत केन्द्रीय अनुशासन समितिको बैठक आह्वान गरिएको जानकारी दिएका हुन्। अनुशासन समितिको बैठक बुधबार दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालयमा बस्ने छ।​

कमेन्ट लोड गर्नुस