बर्ड फ्लूको जोखिम देखिएपछि भारतीय सीमामा उच्च सर्तकता
नेपालगञ्ज: खुला सीमा रहेको बाँकेको नेपालगञ्जलगायत क्षेत्रमा बर्ड फ्लूको जोखिम देखिएपछि उच्च सतर्कता अपनाइएको छ।
जिल्लासँग जोडिएका नाकाबाट अवैध रूपमा भारतबाट ल्याइने कुखुराका चल्ला दैनिकजसो नष्ट गरिएको पशु क्वारेन्टाइन कार्यालय, बाँकेका प्रमुख डा. हरेराम यादवले जानकारी दिए। उनले यस क्षेत्रमा हालसम्म बर्ड फ्लू नदेखिएको उल्लेख गर्दै कुखुराका चल्ला र सेतो अण्डा ल्याउन रोक लगाइएको बताए।
उनले भने, “खुला सीमा क्षेत्रबाट कुखुराका चल्ला र अण्डा ल्याउने प्रयास हुन्छ, तर प्रहरी देखेपछि छाडेर भाग्ने गर्छन्।” सरकारले भारतबाट कुखुराका चल्ला वा सेतो अण्डा नेपाल ल्याउन प्रतिबन्ध लगाएको छ।
डा. यादवले आन्तरिक ढुवानीमा कडाइ र निगरानी बढाइएको जानकारी दिँदै कुखुरा आयात–निर्यातमा कडाइ गरिएको बताए। पशु क्वारेन्टाइन कार्यालयका अनुसार जिल्लामा दैनिक करिब २० देखि २५ थान ब्रोइलर भारतीय कुखुरा नष्ट गरिँदै आएको छ।
उनले भने, “हामीलाई विभागबाट स्पष्ट निर्देशन आएको छ र हामी सचेत छौँ। तराईसँग खुला सीमा जोडिएका जिल्लामा बर्ड फ्लूको जोखिम देखिएको छ।” नियमित रूपमा जनचेतनामूलक कार्यक्रम पनि सञ्चालन भइरहेको उनको भनाइ छ।
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, नेपालगञ्जका वरिष्ठ पशु विकास अधिकृत डा. गणेशबहादुर पुनले चल्ला आयातमा उच्च सतर्कता अपनाइएको बताए। जिल्लामा सुइया, बगौँडा, खडैँचा, जमुनाहा नाकालगायत विभिन्न खुला सीमा नाका रहेका छन्।