प्रदेश सरकारबाट योजना हाल्ने भन्दै नेकपा अछामका नेता जैशीले खाए ३ लाख 'कमिसन'
धनगढीः प्रदेश सरकारबाट योजना हालिदिने भन्दै नेपाली कम्युनिष्ट पार्टीका एक नेताले सर्वसधारणको तीन लाख रकम खाएको दाबी गरिएको छ।
नेकपा अछामका नेता धरणीधर जैशीले बैतडीको पुर्चौडी-७ का उत्तम रतोकीबाट प्रदेश सरकारबाट योजना दिलाउने भन्दै तीन लाख पाँच हजार खाएका हुन्।
अछामको तुर्माखाद गाउँपालिका घर भएका जैशीले रतोकीसँग सुरूमा बिरामी भएकाले उपचार गर्ने भन्दै एक लाख रुपैयाँ सापटी मागेका थिए। त्यसपछि उक्त रकम फिर्ता माग्दा प्रदेश सरकारबाट तटबन्ध र सिँचाइ कुलोको योजना हाल्ने भन्दै जैशीले आफूसँग थप रकम मागेको रतोकीको दाबी छ।
'धरणीधर जैशीले गत वर्ष बजेट आउनु अगाडि नै सुरूमा मसँग बिरामी भएकाले उपचार गर्न नयाँ दिल्ली जानेभन्दै एक लाख रुपैयाँ सापटी मागेका हुन्। उक्त रकम फिर्ता माग्दा थप रकम दिए प्रदेशको योजना हालिदेने बताए,' उनले भने, 'योजना दिलाउने भन्दै मसँग जैशीले तीन लाख पाँच हजार कमिसन मागेका हुन्। उनले योजना पनि हाल्न सकेनन्, पैसा पनि फिर्ता दिएनन्।'
रतोकी पनि नेकपा समर्थक हुन्। जैशीले सिँचाई कुलो र तटबन्धका चार/पाँच योजना हाल्ने भन्दै रकम बुझेको रतोकीको दाबी छ। रतोकीले होटेलमा खानपिन गरेको रकम समेत आफूले तिरेको बताएका छन्।
प्रदेश सरकारको बजेट आउँदा आफूले टिपाएका योजना नपरेपछि जैशीसँग रकम फिर्ता मागेको तर उनले अहिलेसम्म रकम फिर्ता नदिएको रतोकीले दिनेशखबरसँग भने। 'मेरो तीन लाख पाँच हजार रकम खाए तर जैशीले कुनै पनि योजना प्रदेश सरकारबाट हाल्न सकेनन्,' उनले भने, 'मन्त्रालयमा कमिसन बुझाउनुपर्छ भनेर पैसा मागेका हुन्; योजना हाल्ने मान्छेहरूले होटेलमा खानपिन गरेको बिलसमेत मलाई तिर्न लगाइयो तर योजना पनि परेन, पैसा पनि फिर्ता पाएन।'
नेता जैशीले रकम खाएको विषयमा नेकपाको प्रदेश कमिटीमा समेत उजुरी दिएको रतोकीले बताएका छन्। तर पार्टीले समेत पैसा फिर्ता गराउन सहयोग नगरेको उनले बताए। यता नेकपाका प्रदेश सभा संसदीय दलका नेता खगराज भट्टले भने योजना किनबेच गर्न पैसा लिने र दिने दुबैले फट्याइ गरेको बताए। उनले योजना हाल्न रकम दिनु आफैंमा गैरकानुनी भएको बताए।
यता पैसा खाएको आरोप लागेका जैशीले भने रतोकीबाट आफूले विभिन्न मितिमा रकम लिएको स्वीकार गरेका छन्। उनले उक्त रकम फिर्ता गर्ने बताएका छन्। तर त्यसका लागि उनले केही समय लाग्ने बताएका छन्।
'रतोकीजीको तीन लाख पाँच हजार दिनुपर्ने छ, लेनदेन बिग्रेको हो, चार-पाँच जनाको समस्या समाधान गर्नुपर्ने छ,' उनले भने, 'म मिडिएटर भएँ, गल्ती भएको छ, पैसा फिर्ता गर्छु। त्यसका लागि १५/२० दिन लाग्छ।
गत माघ मै एक महिनभित्र रकम फिर्ता गर्ने बताएका जैशीले अहिलेसम्म पनि रतोकीको तीन लाख पाँच हजार फिर्ता गरेका छैनन्। जैशी अहिले फोन सम्पर्कमा पनि नरहेको रतोकीले बताएका छन्।