गृहमन्त्री गुरुङद्वारा तीन अध्यादेश पेस
काठमाडौँ: प्रतिनिधिसभाको आजको बैठकमा गृहमन्त्री सुधन गुरुङले तीन वटा अध्यादेश पेस गरेका छन्। सभाको पहिलो अधिवेशनको पहिलो बैठकमा दलीय मन्तव्यहरू सकिएपछि नियमित कार्यसूचीअन्तर्गत उनले ‘नागरिकता सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०८२’, ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश, २०८२’ र ‘नेपाल विशेष सेवा (तेस्रो संशोधन) अध्यादेश, २०८२’ प्रस्तुत गरेका छन्।
नेपालको संविधानको धारा ८४ को उपधारा (२) अनुसार समानुपातिक बन्द सूचीमा जनसंख्याको आरक्षण सुनिश्चित गर्न अध्यादेशमार्फत कानुन संशोधन गरिएको हो। गत फागुन २१ गतेका लागि प्रतिनिधिसभा निर्वाचन मिति तोकिएपछि मतदाता नामावली अद्यावधिक गर्ने उद्देश्यले अघिल्लो सरकारले ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश’ ल्याएको थियो।
गृहमन्त्री गुरुङले राष्ट्रिय अनुसन्धान विभागलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट हटाई गृह मन्त्रालयअन्तर्गत ल्याउन ‘नेपाल विशेष सेवा (तेस्रो संशोधन) अध्यादेश’ जारी गरिएको जानकारी दिएका छन्।
बैठकमा संविधानसभाका सदस्य तथा पूर्वसदस्य ऋषिकेश गौतम, मोहम्मद अफ्ताव आलम, कृष्णकुमारी श्रेष्ठ, आमोदप्रसाद उपाध्याय, होमनाथ दाहाल तथा संविधानसभा र राष्ट्रियसभाका सदस्य बलदेव बोहराको निधनप्रति शोक प्रस्ताव पारित गरिएको छ।
प्रतिनिधिसभाको अर्को बैठक यही चैत २२ गते आइतबार बिहान ११ बजे बस्नेछ।