बर्दगोेरिया गाउँपालिकाद्वारा स्थानीय उपभोक्तालाई निःशुल्क सुधारिएको चुलो वितरण
कैलालीः कैलालीको बर्दगोेरिया गाउँपालिकाले स्थानीय उपभोक्तालाई सुधारिएको चुलो वितरण गरेको छ । एकता समाज काठमाडौँको सहयोग र गाउँपालिकाको समन्वयमा निःशुल्क रूपमा चुलो वितरण गरिएको हो ।
थोरै दाउराको प्रयोग गरी धुवाँ कम आउने चार हजार सात सय ९८ वटा चुलो वितरण गरिएको छ । वडा नम्बर १ देखि ६ सम्मको उपभोक्तालाई चैत २१ गतेसम्म चुलो वितरण गर्ने कार्यक्रम रहेको छ ।
ग्यासको मूल्य बढेको अवस्थामा गाउँपालिकाले निःशुल्क चुलो उपलब्ध गराएपछि उपभोक्ताहरू खुसी भएका छन् । केही फारम भर्न छुटेका उपभोक्ता निराश भए पनि गाउँपालिकाले छुटेकाहरूलाई पछि व्यवस्था गर्ने जनाएको छ ।
सुधारिएको चुलोले घरमित्रको धुँवा कम गरी स्वास प्रश्वाससम्बन्धी रोगबाट बचाउन र दाउराकाको खपत घटाउन मद्दत पुग्ने अपेक्षा लिइएको छ । गाउँपालिका अध्यक्ष कर्णबहादुर कुँवरले ग्यासको मूल्य बढेको अवस्थामा उपभोक्तालाई राहत पुगोस् भनी थोरै दाउराबाट खाना पकाउन सकिने सुधारिएको चुलो वितरण गरिएको बताए।
उनले निःशुल्क चुलो पाउने भएपछि स्थानीय उपभोक्ता उत्साहका साथ चुलो लिन आएको जानकारी दिए। ‘वातावरण संरक्षण र दिगो ऊर्जा प्रवर्धन गर्ने उद्देश्यले चुलो वितरण गरेका छौं ।’ उनले भने, ‘गाउँपालिकाले चुलोका लागि आवेदन फारम माग गरेको थियो । फारम भरेकालाई पहिलो चरणमा वितरण गरेका छौं । छुट्न गएकाहरूलाई फेरि व्यवस्था मिलाउने छौं ।’