सुदूर नेपाललाई विश्वसँग जोड्दै

अतिरिक्त कक्षा सञ्चालनपछि अतिविपन्न दलित बालबालिकाका लाभान्वित

२०८२ चैत्र २१, ०७:२१ रासस

कञ्चनपुरः यहाँको शुक्लाफाँटा नगरपालिका–१० झलारीस्थित श्रीकृष्ण माध्यमिक विद्यालयको आधारभूत तहमा अध्ययनरत अतिविपन्न दलित परिवारका बालबालिकाका लागि अङ्ग्रेजी माध्यमको अतिरिक्त कक्षा सञ्चालन गरिएको छ। त्यस्ता बालबालिकाको सिकाइ सुधारका लागि वडा कार्यालयको सहयोगमा कक्षा सञ्चालन गरिएको हो।

हाल यहाँ कक्षा १ देखि ३ सम्म अध्ययनरत ६६ जना दलित तथा अतिविपन्न परिवारका बालबालिकालाई समेटेर अतिरिक्त कक्षा सञ्चालन गरिरहेको वडाअध्यक्ष लालबहादुर ऐरले जानकारी दिए। उनका अनुसार आर्थिक अवस्था कमजोर भएका परिवारका अभिभावक मजदुरीका लागि अन्यत्र जाने र बालबालिकालाई पनि सँगै लैजाने गरेका कारण धेरै बालबालिकाले विद्यालय छाड्ने अवस्था छ। 

केही महिना मजदुरी गरेर फर्किएपछि बालबालिकाको सिकाइ सुधारका लागि अतिरिक्त कक्षा सञ्चालन गरिएको उनले बताए। 'अभिभावक मजदुरीका लागि बाहिर जाँदा बालबालिका पनि सँगै जाने र विद्यालय छोड्ने अवस्था छ। पुनः विद्यालयमा फर्किंदा कोर्स पढाइ धेरै अगाडि बढिसकेको हुन्थ्यो। हामीले त्यसको पूर्ति गर्न अतिरिक्त कक्षा सञ्चालन गरेका हौँ,' वडाअध्यक्ष ऐरले भने। 

हाल कक्षा ३ सम्मका बालबालिकाका लागि विद्यालयका दक्ष शिक्षकको व्यवस्था गरी पठनपाठन गरिएको र आगामी शैक्षिक सत्रदेखि कक्षा ५ सम्मका विद्यार्थीलाई समेटेर कार्यक्रम विस्तार गर्ने योजना रहेको वडा कार्यालयले जनाएको छ। हाल अतिरिक्त कक्षा सञ्चालनका लागि वडा कार्यालयले चार लाख विनियोजन गरेको छ। 

दलित समुदायका बालबालिका विद्यालय समयमा नियमित र त्यसपछि अतिरिक्त कक्षामा थप अध्ययन गर्ने व्यवस्था गरिएको छ। त्यस्ता बालबालिकाका लागि वडाबाट वर्षभरि पुग्ने शैक्षिक सामग्री, अङ्ग्रेजी विषयका पाठ्यपुस्तक, झोला, पोसाक, ट्र्याकसुट, जुत्ता, मोजालगायत सामग्री उपलब्ध गराइएको वडाअध्यक्ष ऐरले जानकारी दिए।

विद्यालयका शिक्षक भरतबहादुर ऐरका अनुसार बालबालिकालाई दुईवटा कक्षामा विभाजन गरेर पठनपाठन गरिँदै आएको छ। अतिरिक्त कक्षा सञ्चालन भएपछि बालबालिकाको पढाइमा उल्लेखनीय सुधार देखिएको उनले बताए। 'पहिले धेरै बालबालिका पढाइमा कमजोर थिए, विद्यालय पनि नियमित आउँदैनथे', ऐरले भने, 'हाल बालबालिका नियमित विद्यालय आउन थालेका छन् र पढाइमा पनि सुधार भइरहेको छ।'

यस कार्यक्रमले विद्यालयमा घट्दै गएको विद्यार्थी सङ्ख्या बढाउन पनि सहयोग पुगेको विद्यालय प्रशासनले जनाएको छ। वडा कार्यालयले आगामी दिनमा अझ प्रभावकारी रूपमा दलित तथा अतिविपन्न बालबालिकाको शिक्षामा पहुँच विस्तार गर्ने योजना बनाएको छ। विद्यालयमा छात्रावास निर्माण कार्य पूरा भएपछि अतिविपन्न दलित बालबालिकालाई छनोट गरी आवासीय रूपमा राखेर पढाइ गराउने योजना रहेको वडाअध्यक्ष ऐरले बताए।

'छात्रावास बनेपछि टाढाका र अतिविपन्न परिवारका बालबालिकालाई आवासीय रूपमा राखेर पढाउने योजना छ,' उनले भने, 'वडा कार्यालयले विपन्न बालबालिकाको शिक्षामा पहुँच पुर्‍याउन अभिभावक बनेर काम गरिरहेको छ र आगामी दिनमा यस्ता कार्यक्रमलाई निरन्तरता दिनेछ।'

वडास्तरबाट लक्षित वर्गका बालबालिकाका लागि सञ्चालन गरिएको यस्तो कार्यक्रमले शिक्षामा पहुँच विस्तार, विद्यालय छाड्ने दर घटाउने र शैक्षिक गुणस्तर सुधार गर्ने अपेक्षा गरिएको छ। आर्थिक अभावका कारण पढाइबाट वञ्चित हुने अवस्थामा रहेका बालबालिकालाई लक्षित गरी सञ्चालन गरिएको यस्तो कार्यक्रमले स्थानीय अभिभावक पनि खुसी छन्। 

'यस कार्यक्रमले विशेषगरी दलित तथा अतिविपन्न परिवारका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउन महत्त्वपूर्ण भूमिका खेलेको पाइएको छ,' दलित अधिकारकर्मी सिवी लुहारले भने, 'कक्षा अनुगमन गर्दा बालबालिकाको नियमितता, पढाइप्रति रुचि र शैक्षिक उपलब्धिमा सुधार पाएका छौँ।'

कमेन्ट लोड गर्नुस