धनगढीमा नेपाल सुनचाँदी व्यवसायी महासँघको पाँचौ प्रदेश भेला सम्पन्न
धनगढीः धनगढीमा नेपाल सुनचाँदी व्यवसायी महासंघको पाँचौ प्रदेश भेला सम्पन्न भएको छ। महासंघका प्रदेश अध्यक्ष सन्तोष लामिछानेको अध्यक्षतामा शनिवार प्रदेश भेला सम्पन्न भएको हो।
नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य पुष्पराज कुँवर प्रमुख अतिथि रहेको प्रदेश भेलामा सुदूरपश्चिम प्रदेशका सबै जिल्लाका सुनचाँदी व्यवसायी संघका पदाधिकारीको सहभागिता रहेको थियो।
भेलाको खुला सत्रमा सुनचाँदी व्यवसायीहरूले आफूहरूले भोग्नु परेका समस्याका बारेमा चर्चा गरेका थिए। उनीहरूले राज्यको व्यवहार व्यवसायी मैत्री नभएको गुनासो गरेका छन्।
मुलुकको जिडिपिमा सुनचाँदी व्यवसायको योगदान दुई प्रतिशत भए पनि राज्यले व्यवसायीलाई विभिन्न बाहनामा दुःख दिने काम गर्दै आएको नेपाल सुनसाँदी व्यवसायी महासंघका प्रदेश अध्यक्ष लामिछानेले बताए। उनले सुनचाँदी व्यवसाय गर्ने साथीहरूलाई प्रहरी प्रशासन लगाएर थुन्ने, हैरानी दिने कार्य रोकिनु पर्ने बताए।
यस्तै भेलाका प्रमुख अतिथि कुँवरले सुनचाँदी व्यवसायीका माग र मुद्दा सम्बोधन गर्न राज्यले ध्यान दिनुपर्ने बताए। उनले राज्यको कानुनभित्र रहेर व्यवसाय गर्ने वातावरण हुनुपर्ने कुरामा जोड दिए।
नेपाल सुनचाँदी व्यवसायी महासंघले सरकारसँग विगतदेखि नै कयन माग राख्दै आएको स्मरण गर्दै व्यवसायीहरूले नयाँ सरकारले आफ्ना जायज माग पूरा गर्नुपर्ने बताएका छन्।