सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा सार्वजनिक सेवा बिचौलियामुक्त बन्दै, सेवा प्रवाह छिटो र सहज

२०८२ चैत्र २२, ०१:४६ खबर संवाददाता

बैतडी:जिल्लास्थित सरकारी कार्यालयहरूबाट प्रवाह हुने सार्वजनिक सेवा पछिल्ला दिनमा बिचौलियामुक्त, छिटो र सहज बन्दै गएको पाइएको छ।

सेवाग्राहीमैत्री वातावरण निर्माण गर्दै विभिन्न कार्यालयहरूले सेवा प्रवाहमा सुधार ल्याउन थालेपछि नागरिकले सकारात्मक अनुभव गर्न थालेका छन्। विगतमा सामान्य कामका लागि समेत लामो समय कुर्नुपर्ने अवस्था रहे पनि अहिले सेवा छिटो, छरितो र सरल रूपमा उपलब्ध हुन थालेको सेवाग्राहीहरूको भनाइ छ।

स्थानीय तहदेखि जिल्लास्तरीय कार्यालयसम्म सेवा प्रवाहमा प्रभावकारिता बढ्दै गएको देखिएको छ। जिल्ला प्रशासन कार्यालय बैतडी ले सार्वजनिक सेवा पूर्ण रूपमा बिचौलियामुक्त बनाउन पहल तीव्र पारेको जनाएको छ।

प्रशासनले जारी गरेको सूचनामा सरकारी कार्यालय वरिपरि सेवाग्राहीलाई सहयोग गर्ने नाममा गैरकानुनी रूपमा रकम असुल्ने गतिविधि भएमा कडा कानुनी कारबाही गरिने स्पष्ट पारिएको छ। साथै, जिल्लाका सबै कार्यालयहरूलाई सेवा प्रवाह बिचौलियामुक्त बनाउन आग्रह गरिएको छ।

सेवा प्रवाहलाई अझ प्रभावकारी, छिटो र सहज बनाउन सम्बन्धित निकायलाई आवश्यक निर्देशनसमेत दिइएको प्रशासनले जनाएको छ। स्थानीय स्तरमै निःशुल्क र सहज रूपमा सेवा उपलब्ध हुन थालेपछि सेवाग्राहीले समय र खर्च दुवै बचत गर्न सफल भएका छन्।

यस सुधारले विशेषगरी ग्रामीण भेगका नागरिकलाई प्रत्यक्ष लाभ पुगेको छ। सरकारी सेवा प्रणालीमा आएको यस परिवर्तनले पारदर्शिता अभिवृद्धि हुनुका साथै सुशासन प्रवर्द्धनमा टेवा पुग्ने अपेक्षा गरिएको छ।

गाेरखापत्रबाट
 

कमेन्ट लोड गर्नुस