प्रदेश सभामा आमसञ्चार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि छलफल
धनगढीः सुदूरपश्चिम प्रदेश आमसञ्चार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकले प्रदेशका सञ्चार क्षेत्रलाई व्यवस्थित र जिम्मेवार बनाउने प्रदेश सभा सदस्यले बताएका छन्।
विधेयकमाथि प्रदेश सभामा छलफल गर्दै उनिहरुले विधेयकले सञ्चार जगत्लाई थप व्यवस्थित र जिम्मेवार बनाउने बताएका हुन्। प्रदेश सरकारले ल्याएको यो विधेयकले विचार अभिव्यक्तिको स्वतन्त्रता, प्रेस स्वतन्त्रता र सूचना पाउने नागरिकको अधिकारलाई संरक्षण गर्ने प्रदेश सभा सदस्य तुलसी देवकोटाले बताइन्।
‘आमसञ्चारको तीव्र रूपमा विस्तार भइरहेको अवस्थामा यसको नियमन र संस्थागत विकास अपरिहार्य छ,’ उनले भनिन्, ‘विधेयकले आमसञ्चारलाई स्वतन्त्र, मर्यादित, जिम्मेवार र नागरिकप्रति उत्तरदायी बनाउने छ ।’
विधेयकले सञ्चार माध्यमको दर्ता, नवीकरण तथा नियमनलाई व्यवस्थित र सञ्चार जगत्लाई थप व्यवस्थित बनाउने बताइएको छ । सञ्चारकर्मीको न्यूनतम पारिश्रमिक, सामाजिक सुरक्षा, पेसा सुरक्षित गर्ने पक्ष सकारात्मक भएको उहाँहरूको तर्क छ । सुदूरपश्चिम प्रदेश आमसञ्चार विधेयकको भूमिका निकै महत्वपूर्ण रहेको नेपाली कम्युनिस्ट पार्टीका प्रदेश सभा सदस्य रमेशसिंह धामीले बताए। उनले विधेयकमाथि समितिमा व्यापक छलफल गर्दा राम्रो हुने भन्दै थपे, ‘चलचित्र र सूचना सञ्चारलाई पनि यसको कार्यक्षेत्रभित्र राख्दा राज्यको आर्थिक दायित्व घट्ने देखिन्छ ।’
प्रदेश सभा सदस्य दमनबहादुर भण्डारीले आमसञ्चारलाई व्यवस्थित गर्दै त्यसको संस्थागत विकासमा जोड दिनुभयो । सञ्चार क्षेत्र नियमनको खाँचो अझ बढेको देखिएको बताए।
यसैबिच समसामयिक विषयमा छलफल गर्दै प्रदेश सभा सदस्यले जनजीविकाको सवालमा सरकारको ध्यानाकर्षण गराएका छन्। नेपाली कम्युनिस्ट पार्टीका अक्कल रावलले सुदूरपूर्वबाट आएर सांसद हर्क साङपाङले सुदूरपश्चिमको विकट दार्चुलामा झोलुङ्गे पुल निर्माणमा कस्सिएकोप्रति सम्मान व्यक्त गर्दै पुलका लागि आगामी आर्थिक वर्षमा बजेट विनियोजन गर्न प्रदेश सरकारलाई आग्रह गरे। प्रदेश सभा सदस्य इन्दिरा गिरीले टीकापुर घटनाको छानबिनका लागि गठित लाल आयोगको प्रतिवेदन यथाशीघ्र सार्वजनिक गरेर थारू समुदायलाई न्याय दिन आग्रह गरिन्।
नेपाली कांग्रेसकी प्रदेश सभा सदस्य गीताकुमारी चौधरीले सिकलसेल एनिमिया तथा थलासेमिया बिरामीको उपचारका लागि छुट्टै हेमाटोलोजी सेवाको माग गरिन् । नेकपा (एमाले) का प्रदेश सभा सदस्य धर्मराज पाठकले प्रादेशिक अस्पताल टीकापुर अस्पताललाई बनाउनुपर्ने बताए।
नेपाली कांग्रेसका विक्रमसिंह धामीले प्रदेश सभा सचिवालयका सचिव देवबहादुर बोगटीको अमर्यादित व्यवहारका कारण सचिवालयको गरिमा घटिरहेको भन्दै उनको विकल्प खोज्न सभामुख भीमबहादुर भण्डारीलाई आग्रह गरे। नेपाली कम्युनिस्ट पार्टीका रमेशसिंह धामीले कैलाली क्षेत्र नम्बर ५ को (१) मा बजेट विनियोजन भएर पनि विभिन्न आयोजना अलपत्र पारिएको भन्दै सरकारको ध्यानाकर्षण गराए।