सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको पञ्चोदय माविका ७७ प्रतिशत विद्यार्थी उत्तीर्ण, ५५ जनाले ग्रेड वृद्धि परीक्षा दिन पाउने

२०८२ चैत्र २८, ०३:५९ नारायण अवस्थी

धनगढी: शुक्रबार प्रकाशित भएको कक्षा-८ को परीक्षाको नतिजामा धनगढी-५ हसनपुरको पञ्चोदय माध्यमिक विद्यालयका ७७.०६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्। आधारभूत तहको परीक्षामा सम्मीलित भएका २७९ परीक्षार्थी मध्ये २१५ जना उत्तीर्ण भएका हुन्। जुन ७७.०६ प्रतिशत हो।

२०७९ मा धनगढीका सामुदायिक विद्यालयको नतिजा ९ प्रतिशत मात्रै आउँदा पञ्चोदयको नतिजा ५५ प्रतिशत रहेको प्रधानाध्यापक हरिशकुमार ओझाले बताए।

यस्तै शैक्षिकसत्र २०८० मा ७६ दशमलव १६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएकामा यो वर्ष नतिजामा थप सुधार भएको उनले बताए।

सामुदायिक विद्यालयतर्फ सर्वाधिक विद्यार्थी संख्या रहेको पञ्चोदयमा नेपाली र अङ्ग्रेजी माध्यममा पठनपाठन हुने गरेको छ।

यो वर्ष पास भएका २१५ जना मध्ये १२ जनाको ३.९ भन्दा बढी जिपिए आएको विद्यालयले जनाएको छ।

तीन जना विद्यार्थीले सर्वाधिक ३.९७ जिपिए हासिल गरेका छन्। आशुतोष न्यौपाने, अभिनय जोशी र सम्राट जोशीले ३.९७ जिपिए ल्याएको शिक्षक मोहनराज जोशीले बताए। यस्तै, ५५ जना विद्यार्थीले ग्रेड वृद्धि परीक्षा दिन पाउने भएका छन्। विद्यालयका ९ जना मात्रै ग्रेड वृद्धि परीक्षा दिन पाउने छैनन्।

नारायण अवस्थी दिनेश खबरका सहायक सम्पादक हुन्। उनले शिक्षा, स्वास्थ्य र कृषि विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस