बिसु पर्वका लागि गौरीफन्टा नाकाबाट नेपालीहरूको घरफर्काइ बढ्दो
लक्ष्मण ढुङ्गालः सुदूरपश्चिमेलीहरूको महत्वपूर्ण चाड बिसु पर्व तथा नयाँ वर्षको अवसरमा भारतमा रोजगारीका लागि बसेका नेपालीहरू धमाधम स्वदेश फर्कन थालेका छन् । गौरीफन्टा नाका हुँदै दैनिक ठूलो संख्यामा नेपालीहरू आफ्नो जन्मभूमितर्फ फर्किरहेका छन् ।
रोजगारीको सिलसिलामा लामो समयदेखि भारतका विभिन्न स्थानमा काम गर्दै आएका नेपालीहरू चाडपर्व मनाउन उत्साहित हुँदै घर फर्किरहेका हुन् । कैलालीको बहुनियाका बसन्त कुमार तीन वर्षदेखि भारतमा मजदुरी गर्दै आएका छन् । नयाँ वर्ष र बिसु पर्व परिवारसँग मनाउन पाउँदा उनी निकै खुशी छन् । उनले भने, 'म लामो समयपछि स्वदेश फर्किँदै छु, अब साथीभाइ र आफन्तसँग भेटघाट गर्नेछु।'
त्यस्तै, कैलालीकी अनु धामी पनि काखमा दुधे बालक बोकेर श्रीमान्सँगै गौरीफन्टा नाका पार गर्दै नेपाल प्रवेश गरेकी छन्। उनी डेढ वर्षपछि घर फर्किएकी हुन् । उनले भनिन्, 'नेपालमै रोजगारी भएको भए हामी किन विदेशमा मजदुरी गर्न जान्थ्यौं ?'
बिसु पर्वलाई लक्षित गर्दै नाकामा बिहानैदेखि स्वदेश फर्कनेहरूको भीड देखिने गरेको छ । आफ्नो देशको माटोमा पाइला टेक्दा उनीहरूमा छुट्टै खुशी र उत्साह देखिन्छ।
सुदूरपश्चिम प्रदेशका नौ जिल्लामा मनाइने बिसु पर्व नयाँ वर्षको आगमनसँगै विशेष उत्साहका साथ मनाउने गरिन्छ। यस अवसरमा विभिन्न परिकार बनाएर खाने र पारिवारिक जमघट गर्ने परम्परा रहेको छ।
बैतडीका चेतबहादुर बिष्ट पनि चार वर्षपछि आफ्ना बालबच्चासँग समय बिताउन घर फर्किएका छन्। उनले भने, 'म सानै उमेरदेखि भारतको केरलामा काम गर्दै आएको छु। लामो समयपछि परिवारसँग भेट्न पाउँदा निकै खुशी लागेको छ।'
हाल गौरीफन्टा नाकाबाट दैनिक एक हजारभन्दा बढी नेपाली स्वदेश फर्किरहेका छन्। प्रदेशका अन्य नाकाबाट समेत हजारौंको संख्यामा नागरिक घर फर्किरहेका छन्।
यद्यपि, अधिकांशको एउटै गुनासो भनेको नेपालमा पर्याप्त रोजगारीको अभाव हो। रोजगारीका अवसर नहुँदा उनीहरू विदेशमा मजदुरी गर्न बाध्य भएका छन्। उनीहरूले नयाँ सरकारसँग स्वदेशमै रोजगारी सिर्जना हुने अपेक्षा गरेका छन्।