प्रदेश लोक सेवा आयोगले भदौमा लिएको परीक्षाको नतिजा अझै निकालेन
धनगढीः सुदूरपश्चिम प्रदेश लोक सेवा आयोगले गत भदौमा लिएको लिखित परीक्षाको नतिजा आठ महिना पूरा हुँदासमेत प्रकाशन गर्न सकेको छैन। गत भदौदेखि पुससम्म लिएको प्रदेश सेवा अन्तर्गत विभिन्न सेवा र समूहको नतिजा साल परिवर्तन हुँदा पनि निकाल्न नसकेको हो।
प्रदेश लोक सेवा आयोगले सातौं र नवौं तहको लिखित परीक्षाफल सार्वजनिक गर्न नसकेको हो। प्रदेश सरकारसँग सातौँंर नवौं तहको कर्मचारी अभाव हुँदा जिल्लास्थित कार्यालयहरु निमित्त प्रमुखको भरमा चलेका छन्। निमित्त प्रमुखको कार्यकाल लम्ब्याउने मनसायले नै लोक सेवाको नतिजा प्रकाशनमा विलम्ब गरिएको सरोकारवालाले आशंका गरेका छन्।
यता, प्रदेश लोक सेवा आयोगले भने जेन्जी आन्दोलनका कारण नतिजा प्रकाशनमा ढिलो भएको जनाएको छ। प्रदेश लोक सेवा आयोगले २०८२ मा विभिन्न मितिमा लिएको लिखित परीक्षाको नतिजा प्रकाशन गर्न जेन्जी आन्दोलन र कर्माचारी अभाव नै मुख्य कारण रहेको जनाएको छ।
प्रदेश लोक सेवा आयोगले प्रदेश सेवाको सातौं र नवौं तहको प्रविधिक र अप्राविधिक पदको परीक्षा लिएकोमा प्रशासन सेवातर्फ सर्वोच्च अदालतमा मुद्दा परेकाले नतिजा प्रकाशन गर्न नसकिएको बताएको छ। यस्तै अन्य सेवा र समूहको भने जेन्जी आन्दोलनमा आगजनी र तोडफोड भएकाले केही विधामा पुनः परीक्षा लिन परेको, केहीको उत्तरपुस्तिका परीक्षणमा समय लागेकाले नतिजा प्रकाशन गर्न समय लागेको प्रदेश लोक सेवा आयोगका अध्यक्ष यज्ञराज बोहराले दिनेशखबरसँग बताए।
उनले अबको डेढ हप्ताभित्र रोकिएको सबै सेवा र समूहको नतिजा प्रकाशन गर्ने जानकारी दिए। 'जेन्जी आन्दोलन र उत्तरपुस्तिका परीक्षणमा समय लागेकाले नतिजा प्रकाशनमा हुन नसकेको हो। केही कर्मचारी सरुवा र केही सेवा निवृत्त भएकाले पनि जनशक्ति व्यवस्थापनमा समस्या भएको हो,' उनले भने, ' यसअघि लिखित परीक्षा भएका सबै सेवा, समूह र तहको परीक्षा अबको डेढ हप्ताभित्र प्रकाशित हुन्छ।'