धनगढीमा कुकुरले कुकुरलाई टोक्यो, मान्छेको ज्यान गयो
धनगढी: धनगढीमा कुकुरले टोकेर कुकुर मरेको निहुँमा एक जनाको ज्यान गएको छ। धनगढी-१ लक्ष्मीनगर बुद्धमार्गका ५६ वर्षीय पतिराम चौधरीको मृत्यु भएको हो। चौधरीको परिवारले भने छिमेकी महेश श्रेष्ठले पतिराम चौधरीको हत्या गरेको आरोप लगाएका छन्।
बैशाख २ गते चौधरीको घरमा पालेको कुकुरले आफ्नो कुकुरलाई टोकेर मरेको भन्दै महेशले गएराति मृतक चौधरीलाई धनगढी-१ लक्ष्मीनगर बुद्धमार्गमै रहेको आफ्नो घरमा बोलाएर लगेका थिए।
श्रेष्ठले गए राति करिब ११ बजे घरमा सुतेका चौधरीलाई उठाएर आफ्नो मरेको कुकुर हेर्न भनेर बोलाएर लगेको र कुटपिट गरी हत्या गरेको मृतक चौधरीकी श्रीमती रुपा चौधरीको दाबी छ। 'बिहीबार राति करिब ९:३० मा महेश श्रेष्ठ पहिलो पटक बोलाउन आउँदा मेरो श्रीमान् गएनन्। ऊ खुनको बदला खुन लिन्छु भनेर आएको थियो,' उनले भनिन्, "फेरि करिब ११ बजे दोस्रो पटक बोलाउन आयो र सुतेको अवस्थामा बोलाए लगेको हो, करिब सय मिटर पर रहेको श्रेष्ठको घरबाट आधा घण्टा हुँदा पनि उहाँ फर्केर नआएपछि छोरा र म श्रेष्ठको घरमा जाँदा, मेरो श्रीमान सिढीको तल ढलेको थिए, महेश श्रेष्ठ र उसको आमा बरफ र पानी हाल्दै थिए। उनीहरूले मेरो पतिको हत्या गरेका हुन्।'
चौधरीको रातो कुकुरले आफ्नो कुकुरलाई टोकेको भनेर श्रेष्ठले आफ्नो मरेको कुकुर देखाउँछु भनेर लगेको तर घरमा लगेर बुवालाई कुटपिट गरी हत्या गरेको मृतक पतिरामको छोरी रक्षा चौधरीले बताइन्। उनले भनिन्, 'आधा घण्टासम्म बुवा किन फर्किएनन् भनेर श्रेष्ठको घरमा पुग्दा बुवा बेहोस हुनुहुन्थ्यो, उहाँको शरीरमा कुटपिट गरेको चोटपटक पनि छ। हामीले अस्पताल लगेर चेकजाँच गर्दा डाक्टरले मृत्युु भएको घोषणा गरे।'
चौधरीको श्रीमती रुपा चौधरी र छोरा सन्तोष चौधरी श्रेष्ठको घरमा पुग्दा भित्रबाट आवाज आइरहेको र भित्र पस्दा छतमा चढ्ने सिढी मुन्तिर चौधरीलाई आइसले सेकिरहेको, पानी हालिरहेको मृतकी श्रीमती र छोराले देखेको बताएका छन्। मेरो बुढालाई किन ल्याएको? अनि किन यस्तो भयो? भन्दा कुकुर हेरेर फर्किदा लडेर चोटपटक लागेको महेश र उनको आमा सुमित्रा श्रेष्ठले बताएको मृतककी पत्नी रुपाको भनाइ छ।
बेहोस अवस्थामा रहेका चौधरीको परिवारलाई खबर गर्न छोडेर उनेहरूले आफैले पानी हाल्ने, आइस लगाउने काम गरेको चौधरीले बताइन्। मृतक चौधरीका आफन्त श्रेष्ठको घरमा पुग्दा चौधरीको हातखुट्टा नचलिरहेको, र रिक्सा बोलाएर अस्पताल लगिएको थियो। सेतीको आकस्मिक कक्षमा लगेर इसिजी गर्दा डाक्टरले मृत्यु भइसकेको बताएका थिए।
मृतक चौधरीको परिवारले महेश श्रेष्ठको कुटपिटबाट पतिरामको हत्या गरिएको दाबी गरे पनि महेशको परिवारले यो आरोप अस्वीकार गरेको छ। महेशकी आमा सुमित्रा श्रेष्ठ र भाउजू ज्ञानु श्रेष्ठले चौधरीमाथि कुटपिट नभएको बताए।
मृतक चौधरीको पत्नी रुपाले भने खुनको बदला खुन लिन्छु भनेर पहिलो पटक ९:३० बजे रिसाउँदै आएको श्रेष्ठले दोस्रो पटक राम्रो तरिकाले सुतेको मान्छेलाई उठाएर घरमा लगेर ज्यान लिएको दाबी गरेकी छन्। उनले भनिन्, 'सुरूमा रिसाउँदै आएको थियो, नगएपछि करिब ११ बजे राम्रो मुखले कुकुर हेर्न जाऊ भनेर अङ्गालो हालेर लगेको हो, घरमा लगेर कुटपिट गरी मेरो श्रीमानको ज्यान लिएका हुन्।'
मृतक चौधरी र श्रेष्ठको घर करिब सय मिटरको दुरीमा एउटै टोलमा छ। चौधरीले आफै कुकुर नपालेको तर चौधरीको घरमा कतैबाट आएको रातो कुकुर बस्दै आएको थियो, उक्त रातो कुकुरले रातिको समयमा रक्सी खाएर होहल्ला गर्दै हिँड्ने मान्छेलाई लखेट्ने गरेको स्थानीयले बताएका छन्। तर, चौधरीकै घरमा रहेको कुकुरले श्रेष्ठको कुकुरलाई टोकेको भने कसैले नदेखेको स्थानीयले बताए।
महेशको आमा सुमित्रा श्रेष्ठले भने सिढीबाट तल झर्दा पतिराम लडेर बेहोस भएको बताएकी छन्। उनले चौधरी मरेको कुकुर हेर्न छतमा गएको र फर्किने बेला लडेर बेहोस भएको बताइन्। 'पतिराम आएर कुकुर हेर्न छतमा गएको हुन् सिढिबाट तल झर्दा उनी लडेको हुन्। हामीले तल ल्याएर आइस र पानी हालेर होसमा ल्याउन खोजेको हो। उनीमाथि छोराले कुटपिट गरेको होइन,' सुमित्राले भनिन्। यस्तै, आरोपित श्रेष्ठकी भाउजू ज्ञानु श्रेष्ठले पनि चौधरीमाथि कुटपिट नभएको, उनी खुट्टा फिस्लिएर लडेर बेहोस भएको बताइन्।
श्रेष्ठको परिवारले कुटपिट नभएको बताए पनि मृतक चौधरीको परिवारले कुटपिटबाट नै ज्यान गएको दाबी गरेका छन्। मृतक चौधरीको शव अहिले सेती प्रादेशिक अस्पतालमा राखिएको छ भने आरोपित श्रेष्ठ जिल्ला प्रहरी कार्यालयको हिरासतमा छन्।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डिएसपी योगेन्द्र तिमिल्सिनाले श्रेष्ठलाई सोधपुछका लागि नियन्त्रणमा लिएको बताएका छन्। मृतक चौधरीको परिवारले भने हत्या गरेको भन्दै श्रेष्ठ विरुद्ध किटानी जाहेरी दिने बताएका छन्।
कसैसँग कहिल्यै झगडा नगर्ने र मजदुरी गरेर आर्थोपार्जन गर्दै आएका चौधरीको मृत्युले उनको परिवारको बिचल्ली भएको छ। पेन्टरको काम गर्दै आएका चौधरी मिलनसार र सोझो मानिस रहेको छिमेकीले बताएका छन्।