१६औँ राष्ट्रपति रनिङ शिल्ड पुर्चौडीलाई
बैतडीः बैतडीमा आयोजित १६औँ जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि पुर्चौडी नगरपालिकाले जितेको छ।
१२ स्वर्ण, ९ रजत र ७ कास्य गरी कुल २८ पदकसहित पुर्चौडीले पहिलो स्थान हासिल गर्दै उपाधि आफ्नो पक्षमा पारेको हो। जिल्ला खेलकुद समितिका कार्यालय प्रमुख तर्कराज जोशीका अनुसार प्रतियोगितामा सिगास गाउँपालिकाले ९ स्वर्ण, ५ रजत र ७ कास्य गरी २१ पदकसहित दोस्रो स्थान हासिल गरेको छ।
यस्तै, ५ स्वर्ण, ९ रजत र ८ कास्यसहित २२ पदक जित्दै अन्य टोली तेस्रो स्थानमा सीमित भएका छन्। प्रतियोगितामा मेलौली नगरपालिका ५ स्वर्ण, ६ रजत र ८ कास्यसहित १९ पदकका साथ चौथो स्थानमा रह्यो भने दशरथचन्द नगरपालिका ५ स्वर्ण, २ रजत र ६ कास्यसहित पाँचौँ स्थानमा रह्यो।
डिलाशैनी गाउँपालिकाले १ स्वर्ण, ३ रजत र १ कास्यसहित छैटौँ स्थान हासिल गर्दा सुर्नया गाउँपालिकाले १ स्वर्ण, २ रजत र २ कास्यसहित सातौँ स्थान प्राप्त गरेको छ। त्यसैगरी, पाटन नगरपालिका १ स्वर्ण र १ रजतसहित आठौँ स्थानमा रहँदा शिवनाथ गाउँपालिका २ रजत र २ कास्यसहित नवौँ स्थानमा सीमित भएको छ। पञ्चेश्वर गाउँपालिका भने १ कास्य पदकमा सीमित रहँदै अन्तिम स्थानमा रहेको छ।
वैशाख ७ गतेदेखि दशरथचन्द नगरपालिका–२, देहिमाण्डौँस्थित निङ्लाशैनी खेलमैदानमा सञ्चालन भएको प्रतियोगिताको उद्घाटन सुदूरपश्चिम प्रदेशका उद्योग, वन तथा वातावरण मन्त्री शिवराज भट्टले गर्नुभएको थियो। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी तथा टोलीलाई मेडल, प्रमाणपत्र तथा ट्रफी प्रदान गरिएको छ। जिल्लाका सबै स्थानीय तहको सहभागिता रहेको उक्त प्रतियोगिताले खेलकुदप्रतिको रुचि अभिवृद्धि गर्नुका साथै आपसी सहकार्य, अनुशासन, नेतृत्व तथा टिम भावना विकासमा सकारात्मक योगदान पु¥याउने अपेक्षा गरिएको छ।