कैलालीका विभिन्न स्थानबाट लागूऔषधसहित १२ जना पक्राउ
कैलाली: कैलाली जिल्लाका विभिन्न स्थानमा प्रहरीले लागूऔषधसहित १२ जनालाई पक्राउ गरेको छ। धनगढी उपमहानगरपालिका–२ एलायन्स स्कुल नजिकबाट चरेस जस्तो देखिने ४ ग्राम १० मिलिग्राम कालो पदार्थसहित धनगढी–३ का ३५ वर्षीय किसन बुडालसहित ८ जनालाई शनिबार दिउँसो जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको टोलीले पक्राउ गरेको हो।
त्यसैगरी, कैलारी गाउँपालिका–५ मनिकापुरबाट ३ ग्राम ७५० मिलिग्राम चरेस जस्तो पदार्थसहित गोबरैला निवासी २५ वर्षीय धिरज चौधरी र सोही स्थानका १६ वर्षीय किशोरलाई पक्राउ गरिएको छ। इलाका प्रहरी कार्यालय हसुलियाबाट खटिएको प्रहरी टोलीले सु.प.प्र.०१-०१० प ४६३८ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ र मोटरसाइकलसहित नियन्त्रणमा लिएको हो।
यस्तै, लम्कीचुहा नगरपालिका–१ बसपार्क क्षेत्रबाट २६० मिलिग्राम खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थसहित १८ वर्षीय दुई किशोरलाई शुक्रबार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको टोलीले गोप्य सूचनाका आधारमा चेकजाँच गर्दा उनीहरूको साथबाट उक्त पदार्थ फेला पारेको हो।
यसैबीच, धनगढी उपमहानगरपालिका–२ त्रिनगर क्षेत्रमा भारतको बिजनौर निवासी ३० वर्षीय जमसेद आलमलाई नियन्त्रित लागूऔषध स्पास्मोका ४९ ट्याब्लेटसहित शनिबार साँझ पक्राउ गरिएको छ। भारतबाट नेपाल प्रवेश गर्ने क्रममा प्रहरी चौकी त्रिनगरबाट खटिएको टोलीले शंकाको आधारमा जाँच गर्दा उक्त औषधि बरामद गरेको हो।
प्रहरीले सबै घटनामा संलग्न व्यक्तिहरू र बरामद सामग्री नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जनाएको छ।