कैलालीमा युवक मृत भेटिएको घटना : अघिल्लो दिन पिकनिक टोलीसँग भएको थियो विवाद
धनगढीः कैलालीको गोदावरीमा मृत भेटिएका २७ वर्षीय शेरबहादुर रानामगरको मृत्यु हुनुअघि पिकनिक खान गएको एक समूहसँग विवाद भएको खुलेको छ। गोदावरी नगरपालिका–४ स्थित गोदावरी पुलमुनि आइतबार रानामगर मृत अवस्थामा भेटिएका थिए।
इलाका प्रहरी कार्यालयका अनुसार शनिबार पिकनिक खान गोदावरी पुगेको एक समूहसँग रानामगरको विवाद भएको थियो। पिकनिक खाइरहेको समूहको दाउ जबरजस्ती खोसेर प्रहार गर्न खोजेपछि विवाद भएको र समूहका सदस्यहरू त्यहाँबाट भागेको प्रहरीको भनाइ छ।
त्यसपछि घटनास्थल पुगेको प्रहरीले रानामगरलाई उनका आमाबुवाको जिम्मा लगाएको थियो। तर, त्यसको भोलिपल्टै उनी पुलमुनि मृत भेटिएका हुन्।
प्रहरीका अनुसार रानामगर प्रायः मादक पदार्थ सेवन गरेर हिँड्ने गर्थे। उनको मानसिक अवस्था पनि सामान्य नरहेको बताइएको छ।
घटनाको जानकारी पाएलगत्तै अस्थायी प्रहरी पोस्ट गोदावरीबाट प्रहरी टोली घटनास्थल पुगेको थियो। घटनाको थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय मालाखेतीबाट प्रहरी निरीक्षकको नेतृत्वमा टोली खटाइएको छ।
रानामगरको मृत्युको कारण भने खुल्न सकेको छैन। पिकनिक टोलीसँग भएको विवाद र त्यसपछिका घटनाक्रमलगायतका विषयमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।