सुदूर नेपाललाई विश्वसँग जोड्दै

महेन्द्रनगर माविमा विद्यार्थीको चाप बढ्दो

२०८३ वैशाख २२, ०१:०० रासस

काठमाडौं: नयाँ शैक्षिक सत्रमा भर्ना हुन आउने विद्यार्थीको अत्यधिक चापका कारण विद्यालयले धान्नै नसक्ने अवस्था सिर्जना भएको विद्यालय व्यवस्थापन समितिले जनाएको छ। विसं २०७१ अघि जम्मा ३७१ विद्यार्थी अध्ययनरत रहेको महेन्द्रनगर माविमा अहिले प्रवेश परीक्षा दिन आउनेको भीड लाग्न थालेको छ, जसले सरकारी विद्यालयप्रतिको शंकालाई समेत तोडेको छ।

हाल आधारभूत र माध्यमिक तहमा गरी करिब तीन हजार विद्यार्थी अध्ययनरत छन् भने ९२ जना शिक्षक–कर्मचारी कार्यरत छन्। विसं २०७२ देखि व्यवस्थापन समितिको नेतृत्व सम्हाल्दै आएका अध्यक्ष वीरेन्द्रराज विष्ट चौथोपटक पनि सोही जिम्मेवारीमा छन्।

विष्टका अनुसार आफू नेतृत्वमा आउँदा विद्यालयमा न्यून स्रोत, सीमित शिक्षक र आर्थिक कठिनाइ थियो। अहिले भने निजी स्रोतका शिक्षकलाई पनि सरकारले तोकेको तलब उपलब्ध गराउन सकिने अवस्थामा विद्यालय पुगेको छ।

विसं २०३३ मा स्थापना भएको यो विद्यालय अहिले सुदूरपश्चिम प्रदेशकै सबैभन्दा धेरै विद्यार्थी भएको विद्यालयका रूपमा चिनिन्छ। विद्यालयमा ७२ जना आन्तरिक स्रोतबाट तथा ३० जना दरबन्दीमा शिक्षक–कर्मचारी कार्यरत छन्।

नर्सरीदेखि कक्षा १२ सम्म भर्ना प्रवेश परीक्षा मार्फत मात्र लिने गरिएको छ। हाल भर्नाका लागि आउने विद्यार्थी संख्या सिट क्षमताभन्दा करिब तेब्बर पुगेको छ।

विद्यालयले प्राविधिक तथा नियमित शिक्षा दुवै कार्यक्रम सञ्चालन गर्दै आएको छ। सिटीइभिटी अन्तर्गत बाली विज्ञान, सिभिल ओभरसियर, सब–ओभरसियर लगायतका कार्यक्रम सञ्चालनमा छन् भने विज्ञान, वाणिज्य, शिक्षा र कानुन विषय पनि पढाइ हुँदै आएको छ।

त्यस्तै, ‘पढ्दै कमाउँदै’ कार्यक्रम, छात्रावास सुविधा, औद्योगिक प्रशिक्षार्थी कार्यक्रम तथा ‘संसार चिनाउ’ जस्ता शैक्षिक पहलहरू पनि सञ्चालनमा छन्।

विद्यालयको गुणस्तरीय शिक्षा र सुदृढ व्यवस्थापनका कारण टाढा–टाढाबाट, करिब २० किलोमिटरसम्म दूरीबाट समेत विद्यार्थीहरू साइकल चढेर अध्ययनका लागि आउने गरेका छन्।

कमेन्ट लोड गर्नुस