सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिम एमाले विवादमा ओलीको ‘क्लास’, चार शीर्ष नेतासँग पुनः शुक्रबार कुराकानी हुने

२०८३ वैशाख २४, ०७:२३ खबर संवाददाता

काठमाडौँ:  नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सुदूरपश्चिम प्रदेशका एमाले सांसदहरूसँग करिब चार घण्टा लामो छलफल गर्दै पार्टीभित्रको विवाद समाधानका लागि एकताबद्ध भएर अघि बढ्न निर्देशन दिएका छन्।

सुदूरपश्चिम प्रदेश संसदीय दलको नेतृत्व परिवर्तनको चर्चा चुलिरहेका बेला बुधबार गुण्डुस्थित निवासमा ओलीले प्रदेशका ११ जना सांसदलाई बोलाएर सघन संवाद गरेका हुन्। बैठक बिहान ११ बजेका लागि तय भए पनि केही ढिलो गरी सुरु भएको बताइएको छ।
छलफलको सुरुवातमा प्रदेश इन्चार्ज गणेशसिंह ठगुन्नाले समसामयिक राजनीतिक अवस्था र प्रदेशभित्रको विवादबारे जानकारी गराएका थिए। त्यसपछि प्रदेश अध्यक्ष कृष्णप्रसाद जैशीले पार्टीको अवस्थाबारे धारणा राखेका थिए।

त्यसपछि सांसदहरूले पालैपालो बोल्दै प्रदेश सरकार, संसदीय दलको गतिविधि, मन्त्रीहरूको कार्यशैली तथा दलभित्रको असन्तुष्टिबारे अध्यक्ष ओलीसमक्ष आफ्ना धारणा राखेका थिए। बैठकमा सहभागी एक सांसदका अनुसार केही सांसदले मन्त्री र संसदीय दलको नेतृत्व परिवर्तनको माग उठाएका थिए भने केहीले अहिले परिवर्तन आवश्यक नरहेको बताएका थिए।

सुदूरपश्चिम प्रदेश सरकारमा नेपाली काँग्रेस नेतृत्वको गठबन्धनमा एमालेका तीन मन्त्री र एक राज्यमन्त्री सहभागी छन्। मन्त्री बन्न नपाएका सांसदहरूले आलोपालो प्रणाली लागू गर्नुपर्ने संकेत समेत गरेको स्रोतले जनाएको छ।

करिब चार घण्टासम्म सांसदहरूको कुरा सुनेपछि अध्यक्ष ओलीले पछिल्लो राजनीतिक परिस्थिति उल्लेख गर्दै पार्टीभित्र आन्तरिक विवाद बढाउने समय नभएको बताएका थिए।

‘देशी–विदेशी शक्तिहरू अहिले हाम्रो विरुद्ध सक्रिय छन्, यस्तो बेला विभाजित होइन, एकताबद्ध भएर अघि बढ्नुपर्छ,’ ओलीको भनाइ उद्धृत गर्दै एक सांसदले बताए।

यद्यपि, संसदीय दलको नेतृत्व, मन्त्री हेरफेर वा नयाँ समीकरणबारे ओलीले कुनै ठोस निर्णय भने सार्वजनिक नगरेको जनाइएको छ।

छलफलपछि ओलीले थप परामर्शका लागि एमाले उपमहासचिव लेखराज भट्ट, गणेशसिंह ठगुन्ना, कृष्णप्रसाद जैशी तथा संसदीय दलका नेता राजेन्द्रसिंह रावललाई शुक्रबार पुनः छलफलका लागि बोलाएका छन्।

संसदीय दलका नेता रावलले अध्यक्ष ओलीले सबै सांसदका गुनासा र सुझाव गम्भीरतापूर्वक सुनेको भन्दै पार्टीलाई एकढिक्का बनाएर अघि बढ्न निर्देशन दिएको बताए।

कमेन्ट लोड गर्नुस