सुदूर नेपाललाई विश्वसँग जोड्दै

टीकापुरमा निर्माणाधीन शीतभण्डार यसै वर्ष सञ्चालनमा आउने तयारी

२०८३ वैशाख ३०, ०३:१४ खबर संवाददाता

धनगढी: रानी जमरा कुलरिया सिँचाइ आयोजना अन्तर्गत कैलालीको टीकापुर मा निर्माण भइरहेको शीतभण्डार यसै वर्षदेखि सञ्चालनमा ल्याउने तयारी गरिएको छ। हाल शीतभण्डार निर्माणको अन्तिम चरणअन्तर्गत विद्युत् जडान र रेफ्रिजेरेसनलगायतका काम भइरहेका छन्।

आयोजनाको कृषि कार्यक्रम कार्यान्वयन एकाइका प्रमुख भरत कँडेलका अनुसार निर्माणको म्याद २०८३ मङ्सिर मसान्तसम्म रहे पनि यसै वर्ष सञ्चालन गर्ने लक्ष्यका साथ काम तीव्र पारिएको हो।

शीतभण्डार निर्माण सम्पन्न भएपछि रानी जमरा कुलरिया शीतभण्डार गृह सञ्चालन तथा व्यवस्थापन समितिलाई हस्तान्तरण गरिनेछ। यतिबेला रानी जमरा कुलरिया सिँचाइ प्रणाली जल उपभोक्ता संस्था मूल कुला समितिले शीतभण्डारको सेयर वितरण गरिरहेको छ।

प्रमुख कँडेलले गत वर्षसम्म शीतभण्डारको ८५ प्रतिशत निर्माण सम्पन्न भएको र यस वर्ष बाँकी काम अघि बढाइएको जानकारी दिए। उनका अनुसार बाँकी निर्माणसँगै विद्युत् तथा रेफ्रिजेरेसनको कामका लागि छुट्टाछुट्टै ठेक्का सम्झौता गरी एक करोड ३४ लाख ६६ हजार ९१५ रुपैयाँमा काम भइरहेको छ। अहिले आयोजनाको ७५ प्रतिशत र उपभोक्ताको २५ प्रतिशत लगानी रहेको छ।

यसअघि आयोजनाको ८० प्रतिशत र उपभोक्ताको २० प्रतिशत लगानीमा सात करोड ६ लाख ६९ हजार रुपैयाँ लागतमा शीतभण्डार निर्माण गरिएको थियो। एक हजार मेट्रिक टन क्षमता रहेको उक्त शीतभण्डार विशेषगरी आलु भण्डारणका लागि प्रयोग गरिने योजना रहेको छ।

कमेन्ट लोड गर्नुस