रवि लामिछाने नै रास्वपाको सभापतिमा दोहोरिने : महामन्त्री बुर्लाकोटी
काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री कविन्द्र बुर्लाकोटी ले पार्टीको पहिलो महाधिवेशनबाट रवि लामिछाने नै सर्वसम्मत रुपमा सभापतिमा चयन हुने बताएका छन्।
बिहीबार काठमाडौंमा सञ्चारकर्मीसँग कुरा गर्दै महामन्त्री बुर्लाकोटीले सभापति पदमा लामिछाने दोहोरिने निश्चितजस्तै रहेको धारणा राखे। उनले पार्टीलाई बलियो, एकढिक्का र व्यवस्थित बनाउँदै देशलाई निकास दिन नेतृत्वमा अनावश्यक प्रतिस्पर्धा वा हानथाप उचित नहुने बताए।
उनका अनुसार सभापति बाहेक अन्य विभिन्न पदमा आकांक्षी देखिनु स्वाभाविक भए पनि हालसम्म औपचारिक छलफल भने नभएको स्पष्ट पारे।
महामन्त्री बुर्लाकोटीले महाधिवेशनलाई सफल बनाउन विभिन्न उपसमिति गठन गरेर तीव्र तयारी भइरहेको जानकारी दिए। रास्वपाले पार्टी स्थापना दिवसको अवसर पारेर पहिलो महाधिवेशन असार ७, ८ र ९ गते चितवनमा गर्ने निर्णय यसअघि नै गरिसकेको छ।