सुदूर नेपाललाई विश्वसँग जोड्दै

रोहित र इशान चम्किँदा स्कटल्यान्डमाथि नेपालको शानदार जित, अंकतालिकामा पाँचौं स्थानमा उक्लियो

२०८३ जेठ ४, ०५:०१ खबर संवाददाता

काठमाडौँ: आईसीसी विश्वकप लिग–२ अन्तर्गत जारी एकदिवसीय सिरिजको आफ्नो तेस्रो खेलमा नेपालले स्कटल्यान्डलाई ६ विकेटले पराजित गरेको छ। लगातार दोस्रो जितसँगै नेपाल अंकतालिकाको पाँचौं स्थानमा उक्लिएको छ।

स्कटल्यान्डले दिएको १ सय ९४ रनको लक्ष्य नेपालले ३८.१ ओभरमा ४ विकेट गुमाउँदै सहज रूपमा पूरा गर्‍यो। नेपालको जितमा कप्तान रोहित पौडेलले अविजित ७४ रनको उत्कृष्ट अर्धशतकीय इनिङ्स खेले। यो उनको एकदिवसीय अन्तर्राष्ट्रिय करिअरको १२औँ अर्धशतक हो।

इशान पाण्डेले ५५ रन बनाउँदै आफ्नो पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय अर्धशतक पूरा गरे। ओपनर कुशल भुर्तेलले २८ रन र आसिफ शेखले २९ रनको योगदान दिए। कुशल र आसिफबीच पहिलो विकेटका लागि ५८ रनको साझेदारी भएको थियो। त्यसपछि रोहित र इशानले तेस्रो विकेटका लागि १ सय ४ रनको शतकीय साझेदारी गर्दै नेपाललाई जिततर्फ डोर्‍याए।

यसअघि टस जितेर बलिङ गरेको नेपालले स्कटल्यान्डलाई ३९.१ ओभरमै १ सय ९४ रनमा समेटेको थियो। नेपाली बलरहरूले कसिलो प्रदर्शन गर्दै स्कटिस ब्याटरहरूलाई दबाबमा राखेका थिए।

स्कटल्यान्डका लागि ब्रान्डन म्याकमुलेनले ४४ बलमा ७३ रन बनाए। उनले ६ चौका र ६ छक्का प्रहार गरे। माइल्स इंग्लिसले ५१ रनको अर्धशतक बनाए भने मार्क वाटले २० रन जोडे। ओपनर जर्ज मुन्सेले २१ रन बनाए पनि अन्य ब्याटर प्रभावशाली हुन सकेनन्।

नेपालका लागि ललित राजवंशीले ४ विकेट लिए भने सन्दीप लामिछानेले ३ विकेट हात पारे। सोमपाल कामी, दीपेन्द्र सिंह ऐरी र नन्दन यादवले समान १–१ विकेट लिए।

यसअघि वर्षाले प्रभावित पहिलो खेलमा नेपाल स्कटल्यान्डसँग डिएलएस विधिअनुसार २ रनले पराजित भएको थियो। दोस्रो खेलमा नेपालले अमेरिकामाथि फराकिलो जित निकालेको थियो।

जारी विश्वकप लिग–२ मा स्कटल्यान्ड शीर्ष स्थानमा रहेको छ भने अमेरिका दोस्रो स्थानमा छ। नेपालले २७ खेलबाट २२ अंक जोड्दै पाँचौं स्थानमा उक्लिएको हो।
 

कमेन्ट लोड गर्नुस