सुदूर नेपाललाई विश्वसँग जोड्दै

विपद् मा नसर्ने रोगी उच्च जोखिममा : भजनी र लालझाडीद्वारा ‘पेन डी प्याकेज’ लाई नीति तथा कार्यक्रममा समावेश गराउँदै

२०८३ जेठ ५, ०१:५८ रासस

टीकापुर (कैलाली): कैलालीको भजनी नगरपालिका र कञ्चनपुरको लालझाडी गाउँपालिकाले विपद्को  अवस्थामा नसर्ने रोगसम्बन्धी अत्यावश्यक प्रतिकार्य कार्यक्रम (पेन डी)लाई आफ्नो नीति तथा कार्यक्रममा समावेश गर्ने भएका छन्। 

रक्तचाप, मधुमेह, क्यान्सर, मुटु तथा रक्तनली तथा श्वासप्रश्वास रोग पछिल्लो समय जनस्वास्थ्यको प्रमुख जोखिम देखिएकाले यसलाई नियन्त्रण गर्न ती पालिकाले आफ्ना नीति तथा कार्यक्रममा समावेश गरेर उपचारात्मक तथा सचेतनात्मक थालनी गर्ने प्रतिबद्धता जनाएका हुन्। यी रोग नेपालमा अकालमै हुने मृत्युदर र अपाङ्गताको प्रमुख कारक बन्दै गएका छन्। विश्व स्वास्थ्य सङ्गठनका अनुसार सन् २०१९ मा ७१ प्रतिशत मृत्युको कारकका रूपमा देखिएको नसर्ने रोग सन् २०४० सम्ममा ७९ पुग्ने प्रक्षेपण छ।

विपद्को सधैँ उच्च जोखिममा रहेका ती दुई पालिकामा पनि नसर्ने रोग वृद्धिको ‘ग्राफ’ बढ्दो छ। विशेष गरेर ती दुई पालिकामा हरेक वर्ष बाढी र कटानको जोखिम उच्च हुन्छ। नोभो निर्डिस्क फाउन्डेसनको आर्थिक एवं प्राविधिक सहयोगमा हाल ती दुई पालिकामा ‘रिजिलियन्स एनसिडी’ परियोजना कार्यान्वयनमा छ। यसलाई डेनिस, क्यानेडिन रेडक्रस, आरहुस विश्वविद्यालय र नेपाल रेडक्रस सोसाइटीले सहयोग गरिराखेका छन्। 

प्राथमिक स्वास्थ्य सेवा तहमा नसर्ने रोगको व्यवस्थापन गर्न विश्व स्वास्थ्य सङ्गठनले ‘पेन डी’ कार्यान्वयनमा सहयोग गरिराखेको भए पनि विपद्का अवस्थामा यो प्रभावकारी छैनन्। यस्तो अवस्थामा उपचार रोकिने, सेवन गरिराखेका औषधि रोकिने र विस्थापितसमेत हुनुपर्ने अवस्था छ।  

कैलालीको भजनी नगरप्रमुख केवल चौधरी र लालझाडी गाउँपालिकाका अध्यक्ष निर्मल रानाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा ‘पेन डी प्याकेज’लाई समावेश गर्ने जानकारी दिए।

‘रिजिलियन्स एनसिडी’ परियोजना समीक्षा एवं कृत्रिम अभ्यास कार्यक्रममा भजनी नगरपालिकाका प्रमुख चौधरीले भने, “आगामी वर्षको नीति तथा कार्यक्रममा ‘पेन डी प्याकेज’ समावेश हुन्छ। पछिल्लो समय मैले पनि नसर्ने रोगका बारेमा धेरै ज्ञान सिके, नसर्ने रोग रोकथाम विपद्मा मात्र होइन, अन्य समयमा पनि नियमित गर्नुपर्ने समस्या छ। समुदाय, जनप्रतिनिलिाई नसर्ने रोगको जोखिमबारेमा थप जानकारी दिन आवश्यक छ।”

उनका अनुसार नगरवासीलाई बाढीको उच्च जोखिमबाट जोगाउन सयभन्दा  बढी उच्च घर बनाउन पालिकाले सहयोग गरेको छ। विस्थापित नागरिक राख्नका लागि १८ उच्च घर बनाइएका छन्। “अब विस्थापित बस्ने सुरक्षित स्थानमा पनि नसर्ने रोगलाई ध्यानमा राखेर सेवा दिनेछौँ”, उनले भने, “ समुदायमा नसर्ने रोगका बिरामीको खोजपड्ताल गर्नेेक्रम जारी छ। पहिचानका लागि यस्ता रोगलाई कार्ड वितरण भैराखेको छ।”

लालझाडी गाउँपालिकाका अध्यक्ष निर्मल रानाले ‘पेन डी प्याकेज’ मार्फत रेडक्रसले नसर्ने रोगका जोखिम तथा बच्ने तौरतरिकाबारेमा सचेतना जगाउने काम गरेको बताए। उनले भने “परीक्षणका रुपमा ‘रिजिलियन्स एनसिडी’ परियोजना भए पनि यसलाई पालिकाले अपनत्व लिनेछ। हामीले यो कार्यक्रमलाई निरन्तरता दिनेछौँ। हामीले मात्र होइन देशैभरिका पालिकाले लागू गर्न सके राम्रो हुनेछ।”

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको सहयोगमा तयार पारिएको ’पेन डी प्याकेज’लाई यी पालिकामा दुई वर्ष परीक्षण अभ्यास गरिएको छ। प्याकेजअन्तर्गत स्थानीय तहमा विभिन्न सचेतनामूलक कार्य भएका जनाइएको छ। 

यस्ता थिए अभ्यास 

‘पेन डी प्याकेज’को अभ्यास गरिरहेका विशेषगरी बाढीजन्य विपद्को जोखिममा रहेका यी दुई पालिकामा वास्तविक विपद्को समयमा प्रयोग गर्न सहज होस् भनी दुई दिन कृत्रिम घटना अभ्याससमेत गरिएको छ। 

आठवटा परिदृश्यमा गरिएको अभ्यासमा पालिकाको भूमिका, स्थानीय आपतकालीन कार्यसञ्चालन केन्द्र, विषयगत शाखा, विपद्का समयमा बढी सक्रिय रहने बडघर, भल्मन्सा, महिला स्वास्थ्य स्वयंसेविका, स्वास्थ्यकर्मी, रेडक्रसलगायतका सङ्घसंस्था, स्थानीय समुदायमा रहेका विपद् व्यवस्थापन समिति, सञ्चारकर्मी वा सूचना संयन्त्रका नागरिक परिचालन गरिएको रेडक्रस सोसाइटीका ‘रिजिलियन्स एनसिडी’ परियोजनाकार्यक्रम संयोजक प्रमोद अधिकारीले जानकारी दिए। 

कैलाली, कञ्चनपुरमा बग्ने मोहना, कान्द्रा, दोदा, पथरैयालगायतका नदीले हरेक वर्ष मनसुन सक्रिय रहेका समयमा जलमग्न हुने, डुबानको समस्या हुँदा नागरिक विस्थापित हुने गर्दछन्। उनले भने, “विपद्का अवस्थामा नसर्ने रोग लागेका व्यक्तिहरूमा नछुटाई स्वास्थ्य क्षेत्र र विपद् प्रतिकार्य प्रणालीबीचको अन्तरलाई कम गर्नु ‘रिजिलियन्स एनसिडी’ परियोजनाको मुख्य  ध्येय रहेको छ। विपद्मा नसर्ने रोगका बिरामीलाई प्राथमिकता दिन सकेमा आकस्मिक जटिलता र मृत्यु जोखिम कम हुन्छ, बिरामीको मानसिक तनाव कम हुन्छ। मधुमेह, उच्च रक्तचाप, मुटुरोगजस्ता रोग बिग्रनबाट मानिसलाई जोगाउन सकिन्छ। नीतिगत रूपमा काम गरेमा नियमित औषधि पाउन र उपचार निरन्तरतामा समेत सहयोग हुन्छ।”

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान शाखाले प्रक्षेपण गर्ने मनसुनसम्बन्धी सूचनाअनुसार रेडक्रस र स्थानीय पालिकाहरूले पूर्व कार्ययोजनालाई अद्यावधिक गर्ने गरेका छन्।

कृत्रिम घटना अभ्यासमा बाढीजन्य विपद्का समयमा आधारभूत स्वास्थ्य सेवा तथा नसर्ने रोग लागेका बिरामीलाई दिइने सेवा निरन्तर गरिएको थियो। 

यस क्रममा मुटु तथा रक्तचाप, मधुमेह, क्यान्सर, श्वासप्रश्सावका दीर्घरोगका बिरामीको सूचीसमेत अद्यावधिक गरिएको भजनी नगरपालिकाका विपद् व्यवस्थापन शाखा प्रमुख विष्णुराज न्यौपानेले जानकारी दिए। 

“अभ्यासका क्रममा पालिकामा रहेका दीर्घरोगीको तथ्याङ्क तयार गरी उनीहरूलाई आवश्यक औषधि भण्डारण, बाढीमा स्वास्थ्यचौकी डुब्दा पनि सेवा निरन्तर कसरी गर्ने भनी अभ्यास गरियो”, उनले भने, “यसले राम्रो सिकाइ भएको छ। हामीले विपद्का समयमा नागरिक सुरक्षाका लागि स्थानीय भाषामा सूचना प्रवाह गर्ने, उद्धारमा खटिने जनशक्ति पालिकामा सूचीकृत गर्ने गरेका छौँ। बर्खा लाग्न थालेकाले हामी पूर्वतयारीमा जुटिसकेका छौँ। यो घटना अभ्यासले विपद्मा राहत दिँदा नसर्ने रोगका बिरामीको स्वास्थ्यलाई ख्याल गरेर खानेकुरा दिने, सेल्टरमा त्यही खालको बसोबास तथा उपचारको व्यवस्थाको प्रयास गर्नुपर्छ भनी सिक्यौँ, यो उपलब्धिमूलक रह्यो।”

रेडक्रसले ‘कन्ट्रोल टिम’ बनाएर दुई पालिकाका छ समूहमा विभाजन गरी क्रियात्मक कृत्रिम घटना अभ्यास गरेको हो।  भिडियो कलमार्फत अभ्यास गरिएको थियो। यसको अनुगमन परियोजनाका सहयोगी विभिन्न टोली राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, राष्ट्रिय स्वास्थ्य आपतकालीकन कार्यसञ्चालन केन्द्र, डेनिस रेडक्रस, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा, जिल्ला विपद् व्यवस्थापन समितिले गरेका विपद् प्रतिकार्य परियोजना कैलालीका कार्यक्रम संयोजक मुकेशचन्द्र गौतमले जानकारी दिए। 

अभ्यासका क्रममा प्रविधिको प्रयोग अधिकतम गरिएको थियो। सूचना संयन्त्रमा आबद्ध भएकाहरूको मोबाइलमा म्यासेज सन्देश, माइकिङ, साइरनमार्फत सूचना, रेडियो सन्देश, बडघर, भल्मन्सामार्फत सूचना प्रवाह, फेसबुकमार्फत सूचना प्रवाह गरिएको थियो। 

लालझाडी गाउँपालिकाका विपद् शाखा प्रमुख हेमराज उपाध्यायले विशषेगरी नसर्ने रोगका बिरामीलाई नियमति औषधि सुरक्षित राख्न र स्थानान्तरणका लागि योजना बनाई सुरक्षितस्थलमा स्थानान्तरण गर्ने कार्यमा तयारी गर्नुपर्ने आवश्यकता महसुस भएकोे बताए। उनले भने, “पेन डि  महत्त्वपूर्ण रहेछ, नसर्ने रोग रोकथामसँगै मानसिक स्वास्थ्य सेवालाई प्राथमिकता दिनुपर्छ। समस्या भने धेरै छन्। हामीले सर्ने रोग नियन्त्रणमा समेत काम गर्न सकेको अवस्था छैन। नसर्ने रोग रोकथाममा तीनै तहका सरकार मिलेर काम गर्नुपर्छ।”
 
लालझाडी गाउँपालिका, शङ्करपुर स्वास्थ्यचौकीका सिनियर अहेव यज्ञबहादुर धामी बाढीका समयमा स्वास्थ्यकर्मी आफैँ विपद्मा पर्ने भएकाले पूर्वतयारी आवश्यक रहेको बताए। “विपद्को आकलन गरी स्वास्थ्य संस्थालाई तयारी अवस्थामा राख्नुपर्छ। स्वास्थ्यमा पूर्वाधार र जनशक्ति अभाव छ”, उनले भने, “स्वास्थ्यमा सरकारको लगानी बढ्नुपर्छ। विकास भनेको मानिसको जीवन बचाउनु हो भन्ने बुझाइ विकास हुनुपर्छ।”

स्वास्थ्य मन्त्रालय हाल ‘पेनडी प्याकेज’ प्रमाणीकरणका लागि प्रक्रियामा रहेको छ। विपद्को समयमा नसर्ने रोग हेरचाह अवरुद्ध हुने भएकाले विपद्का समयमा नसर्ने रोगका बिरामीलाई सहज सेवा पाउनेगरी आवश्यक तयारी, पूर्वकार्य, प्रतिकार्यका कार्य गर्न पालिका तहमै रणनीति, समानतामा आधारित विभिन्न अभ्यास र स्वास्थ्य सेवाको सुनिश्चितता आवश्यक छ।

डेनिस रेडक्रसका प्रतिनिधि निरु प्रधानले नसर्ने रोगका क्षेत्रमा काम गर्दा पेन डी प्याकेजबारे पहिला जानकारी दिन आवश्यक रहेको बताए। उनले भने, “यो परियोजनाको अबधि समाप्त भए पनि नसर्ने रोगलाई प्राथमिकता दिएर अन्य परियोजनामा पनि काम गर्ने योजना छ।”

नेपाल रेडक्रस सोसाइटी, स्वास्थ्य विभागका स्वास्थ्य कार्यक्रम संयोजक अनिल महर्जनले स्वास्थ्यचौकीको विपद् योजना तयार गर्नुपर्ने सुझाव दिए। “पालिकाले बनाएको विपद् योजना, मनसुन योजना स्वास्थ्यकर्मी अधिकांशलाई जानकारी छैन, अधिकांशलाई पेन डी प्याकेजबारे जानकारी आवश्यक छ”, उनले भने, “विपद् शाखा र स्वास्थ्यकर्मीबीच समन्वय गर्नुपर्यो । पेन डी प्याकेज स्वास्थ्य संस्थामा पनि राख्नुपर्यो। सरकारले पेनडी प्याकेजलाई स्वास्थ्य पद्दतिमा लगेर नियमित सेवामा समावेश गर्नुपर्छ।”

आरुहुस विश्वविद्यालयका राजन श्रेष्ठले समुदायमा विपद् र स्वास्थ्यका धेरै समस्या भएकाले विपद् पूर्वतयारी र प्रतिकार्यमा स्थानीयको सहभागिता बढाउनुपर्ने सुझाव दिए। अवलोकनकर्ता सुदीप आलेमगरले विपद्मा नसर्ने रोगमैत्री खानेकुरा, औषधि आदिबारे विशेष ध्यान दिन आग्रह गरे। “विपद्का समयमा सञ्चार र विद्युत्को विकल्प पनि तयारी हुनुपर्छ”, उनले भने, “स्थानीय स्रोतसाधन सहयोगमा विपद् व्यवस्थापनको प्रयास गरिनुपर्छ।”

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा, सामुदायिक स्वास्थ्य डा सबिन पराजुलीले विपद्का समयमा सामान्य मानिसलाई पनि तनाव र दैनिकीमा परिवर्तनले गर्दा नसर्ने रोगको जोखिम बढ्ने भएकाले जनचेतनामा प्राथमिकता दिनुपर्ने बताए। “तीस वर्षमाथिका सबैले उच्च रक्तचाप नियमित जाँच गर्नुपर्छ। स्थानीय आपतकालीन केन्द्रले अझ बढी समन्वय बढाउनुपर्छ”, उनले भने, “हरेक प्रदेशमा रहेका प्रादेशिक स्वास्थ्य कार्यालयसँग समन्वय गरी चिकित्सक तथा औषधि सहयोगका लागि समन्वय बढाउनुहोला। विपद्का बेला थोरै समयमा धेरै सहयोग लिन सक्नुपर्छ।” 

कमेन्ट लोड गर्नुस