कैलालीमा कृषि आधुनिकीकरण कार्यक्रममा चार हजार बढी किसान आबद्ध
कैलालीः कैलालीमा सञ्चालित राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रममा चार हजार ८८९ किसान आबद्ध भएका छन्।
जिल्लामा सञ्चालित ‘गहुँ सुपरजोन’, ‘तेलहन जोन’, ‘धान जोन’ र ‘माछा जोन’ कार्यक्रममा किसान आबद्ध भएका हुन्। चालु आर्थिक वर्ष २०८२÷८३ मा चारवटै जोनमा तीन हजार ८१ महिला र एक हजार ८०८ पुरुष आबद्ध भएका राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यान्वयन एकाइ कैलालीका सूचना अधिकारी भीष्मराज रेग्मीले जानकारी दिए।
चालु आर्थिक वर्षमा सहकारी, कृषि समूह, कृषि उद्यमी र समिति गरी ४६३ संस्था सूचीकृत भएका उनले जानकारी दिए। उनका अनुसार हाल गहुँ सुपरजोन सात हजार २०० हेक्टर, तेलहन जोन एक हजार ५०० हेक्टर, धान जोन एक हजार ५०० हेक्टर र माछा जोन ५०५ हेक्टर क्षेत्रफलमा सञ्चालित छ।
सूचना अधिकारी रेग्मीका अनुसार कार्यक्रम सञ्चालन भएपछि गहुँको उत्पादकत्व दुई दशमलव नौ मेट्रिक टन प्रतिहेक्टरबाट वृद्धि भएर हाल चार दशमलव छ, तोरीको उत्पादकत्व शून्य दशमलव नौ मेट्रिक टनप्रति हेक्टरबाट वृद्धि भएर एक दशमलव २३ र धानको उत्पादकत्व तीन दशमलव ४७ बाट वृद्धि भएर पाँच दशमलव ३१ मेट्रिक टन प्रतिहेक्टर पुगेको छ।
त्यसैगरी, कार्यक्रम सञ्चालित क्षेत्रमा कार्प जातका माछाको उत्पादकत्व चार दशलव सात मेट्रिक टन प्रतिहेक्टर र पङ्गासियर्सको ३६ दशमलव दुई मेट्रिक टन प्रतिहेक्टर रहेको उनले जानकारी दिए। ‘गहुँ सुपरजोन’ जिल्लाको कैलारी गाउँपालिका, गौरीगङ्गा र घोडाघोडी नगरपालिकाका विभिन्न १८ वडामा, ‘तेलहन जोन’ जानकी, जोशीपुर गाउँपालिका, भजनी, घोडाघोडी नगरपालिका र बर्दगोरिया गाउँपालिकाका विभिन्न २९ वडा र ‘धान जोन’ जोशीपुर गाउँपालिका, भजनी नगरपालिका र जानकी गाउँपालिकाका विभिन्न नौवटा वडामा सञ्चालनमा रहेको उनले जानकारी दिए।
माछा जोन कार्यक्रम धनगढी उपमहानगरपालिका, कैलारी गाउँपालिका, घोडाघोडी नगरपालिका र भजनी नगरपालिकाका विभिन्न क्षेत्रमा सञ्चालनमा रहेको उनले जानकारी दिए। लागत घटाएर कृषि आधुनिकीकरण गर्दै उत्पादकत्व बढाउन ५० प्रतिशत अनुदानमा बीउ, विषादी, कृषियन्त्र उपकरण वितरण गर्ने गरिएको उनको भनाइ छ। जिल्लामा गहुँ सुपरजोन आर्थिक वर्ष २०७३÷७४, तेलहन जोन आर्थिक वर्ष २०७४÷७५, धान जोन आर्थिक वर्ष २०७८÷७९ र माछा जोन आर्थिक वर्ष २०८१÷८२ मा सुरु भएको थियो।