गौरीफन्टा नाकामा ब्राउन सुगरसहित धनगढी बस्ने भारतीय युवक पक्राउ
धनगढीः भारत–नेपाल सीमा क्षेत्रमा लागूऔषध तस्करी नियन्त्रण अभियानअन्तर्गत भारतीय प्रहरीले ६.५६ ग्राम ब्राउन सुगरसहित एक युवकलाई पक्राउ गरेको छ।
भारतको खीरी जिल्ला अन्तर्गत गौरीफन्टा प्रहरी र एसएसबीको संयुक्त टोलीले शुक्रबार चेकजाँचका क्रममा उनलाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार बनगवां गाउँबाट मुख्य सडकतर्फ जाने जंगल क्षेत्रको कच्ची बाटो नजिकबाट बरेली जिल्लाका दिलशाद कुरैशीलाई अवैध लागूऔषधसहित नियन्त्रणमा लिइएको हो।
पक्राउ परेका दिलशाद कुरैशी हाल धनगढी उपमहानगरपालिका–१ मा बस्दै आएका थिए।
उनको साथबाट ६.५६ ग्राम ब्राउन सुगर बरामद गरिएको भारतीय प्रहरीले जनाएको छ। घटनापछि उनीविरुद्ध एनडिपिएस ऐनअन्तर्गत मुद्दा दर्ता गरी अदालतमा पेश गरिएको बताइएको छ।