सुदूर नेपाललाई विश्वसँग जोड्दै

कर बक्यौता सूचीमा परेको माया मेट्रो हस्पिटलको कर तिरिसकेको दाबी

२०८३ जेठ १२, ०८:५४ खबर संवाददाता

धनगढीः धनगढीस्थित माया मेट्रो हस्पिटलले आन्तरिक राजश्व कार्यालयमा बुझाउनुपर्ने कर तिरिसकेको जनाएको छ।

मंगलबार प्रकाशित गोरखापत्र दैनिकमा कर बक्यौता नतिर्ने ५३ व्यापारिक फर्मको सूची सार्वजनिक हुँदा माया मेट्रो हस्पिटलको नाम पहिलो नम्बरमा राखिएको थियो।

तर हस्पिटलले आर्थिक वर्ष २०८१/८२ को दुई करोड ५९ लाख रुपैयाँ कर तिरिसकेको दाबी गर्दै बक्यौता रकम हटाइदिन २५ चैत २०८२ मा आन्तरिक राजश्व कार्यालयलाई पत्राचार गरिसकेको जनाएको छ।

यद्यपि मंगलबार सार्वजनिक सूचीमा भने हस्पिटलको नाम कर बक्यौता नबुझाउने संस्थाको रूपमा समावेश गरिएको पाइएको छ।

आन्तरिक राजश्व कार्यालयले समेत माया मेट्रो हस्पिटलले कर बुझाएको विवरणसहित चैतमै पत्र दिएको पुष्टि गरेको छ।

कार्यालयका अनुसार हस्पिटलले कारोबार विवरण अद्यावधिक नगर्दा कर विवरण र कारोबार मिलान हुन नसकेको हो। त्यसका कारण आयकरको बक्यौता यकिन गर्न समस्या भएको कार्यालयले जनाएको छ।

राजश्व कार्यालयले हस्पिटलले आवश्यक विवरण अद्यावधिक गरेपछि मात्रै वास्तविक रूपमा कर तिर्न बाँकी रहे–नरहेको स्पष्ट हुने बताएको छ।

कमेन्ट लोड गर्नुस