बडघर/भलमनसा ऐन ल्याउने तयारीमा सुदूरपश्चिम प्रदेश सरकार
धनगढीः थारू समुदायमा प्रचलित भलमनसा प्रथासम्बन्धी कानुनी व्यवस्थाका लागि सुदूरपश्चिम प्रदेश सरकारले बडघर/भलमनसा ऐन निर्माण गर्न थालेको छ ।
सरकारले बडघर र भलमनसा प्रथाको संरक्षण, प्रवर्धन एवं विकास गर्ने उद्देश्यले यो ऐन बनाउन लागेको हो । ऐन निर्माणका लागि प्रदेश सरकारले सुदूरपश्चिम प्रदेश बडघर र भलमनसा प्रथा संरक्षण तथा विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेश सभामा टेबुल गरिसकेको छ ।
सुदूरपश्चिम प्रदेशमा बसोबास गर्ने आदिवासी थारू जातिभित्र परम्परादेखि प्रचलनमा रहेको बडघर र भलमनसा प्रथाको संरक्षण, प्रवर्धन र विकास गर्न प्रथाजनित साङ्गठनिक प्रणालीको क्षेत्राधिकार र कार्यप्रक्रिया व्यवस्थित गर्न ऐन बनाउन लागेको हो ।
यसले प्रथासँग सम्बन्धित विभिन्न खेल, परम्परा र सांस्कृतिक प्रचलनको नियमनका लागि कानुनी व्यवस्था गर्ने छ । कला, संस्कृति, संस्कार जोगाउने जिम्मा प्रदेश सरकारको रहेको सामाजिक विकासमन्त्री मेघराज खड्काले बताए।
बडघर र भलमनसा प्रथा संरक्षण तथा विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक निर्माण गर्दा सरकारले सम्बन्धित समुदायका अगुवा, अध्येतालगायत धेरैसँग छलफल गरेको उनको भनाइ छ ।
बडघर र भलमनसा प्रथाले सामाजिक कार्यमा लगनशीलता, एकता, सबैको सहभागिता र लोकतान्त्रिक पद्धति अँगालेको मन्त्रीले उल्लेख गरे। यो प्रथाले प्रदेशको विकासमा टेवा पु¥याउने भएकाले विधेयकलाई अगाडि बढाएको उनको भनाइ छ।
ऐनले बडघर र भलमनसा प्रणाली तथा भुरा खेलसम्बन्धी व्यवस्था गर्दै छ । आदिवासी थारू जातिको बसोबास रहेको प्रत्येक गाउँमा एउटा बडघर भलमनसा प्रणाली रहने विधेयकमा उल्लेख छ । बडघर र भलमनसा प्रणालीभित्र बडघर वा भलमनसा, चिरक्या, अगरिया/अघरिया, चौकीदार, गुरुवा र केसौका पद रहने जनाइएको छ ।
भुरा खेलबाट सर्वसहमतिका आधारमा पदाधिकारी चयन हुने छ । सहमति हुन नसके मतदान प्रक्रियाद्वारा सबैभन्दा बढी मत ल्याउनेलाई पदाधिकारी चयन गरिने विधेयकमा उल्लेख छ । भुरा खेलमा राजनीतिक दलको प्यानल बनाई उम्मेदवारी दर्ता गर्न र उम्मेदवार छनोट गर्न नपाइने विधेयकमा उल्लेख छ । पदाधिकारी चयन गर्दा उपलब्ध भएसम्म कम्तीमा ३३ प्रतिशत र सो सङ्ख्या उपलब्ध हुन नसकेमा कम्तीमा एक जना महिलाको प्रतिनिधित्व गराउनुपर्ने जनाइएको छ ।
भुरा खेलबाट चयन हुने पदाधिकारीको अवधि एक वर्ष रहने र पदावधि पूरा भएपछि सहमति अनुसार पुनः चयन गर्न सकिने विधेयकमा उल्लेख छ । भुरा खेलको बैठक प्रत्येक वर्ष माघमा हुने जनाइएको छ तर कुनै कारणवश पदाधिकारीको पद रिक्त भएमा पदाधिकारी चयन गर्ने प्रयोजनका लागि भुरा खेलको बैठक जुनसुकै समयमा बस्न बाधा नहुने उल्लेख छ । भुरा खेल बडघर भलमनसा प्रणालीको सर्वोच्च अङ्ग हुने विधेयकमा उल्लेख गरिएको छ ।