सुदूर नेपाललाई विश्वसँग जोड्दै

मुख्यमन्त्री कमलबहादुर शाहविरुद्ध काँग्रेस सांसदहरूको अविश्वास प्रस्ताव दर्ता

२०८३ जेठ १९, ०३:१९ खबर संवाददाता

धनगढी: सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री तथा नेपाली काँग्रेस संसदीय दलका नेता कमलबहादुर शाहविरुद्ध उनकै पार्टीका सांसदहरूले अविश्वासको प्रस्ताव दर्ता गरेका छन्।

कांग्रेस सुदूरपश्चिमका सांसद दिवानसिंह बिष्टका अनुसार दलभित्र नेतृत्व परिवर्तन गर्दै सरकारको नेतृत्वसमेत फेरबदल गर्ने उद्देश्यसहित प्रस्ताव दर्ता गरिएको हो। उनले काँग्रेसका १८ सांसदमध्ये हाल विदेशमा रहेका प्रकाशबहादुर देउवा बाहेक नेपालमा रहेका १७ सांसदमध्ये नौ जनाको हस्ताक्षरसहित अविश्वास प्रस्ताव पेश गरिएको जानकारी दिए।

‘लामो समयदेखि नेतृत्व परिवर्तनको विषय उठ्दै आएको थियो। त्यसैको निरन्तरतास्वरूप नौ सांसदको समर्थनमा अविश्वास प्रस्ताव दर्ता गरेका हौं,’ बिष्टले बताए।

यता नेपाली काँग्रेस सुदूरपश्चिम संसदीय दलका प्रमुख सचेतक विक्रमसिंह धामीले भने प्रस्ताव दर्ताबारे आफूलाई औपचारिक जानकारी नभएको बताएका छन्।

यसअघि पनि काँग्रेसका केही सांसदहरूले मुख्यमन्त्री शाहलाई पदबाट राजीनामा दिन आग्रह गर्दै आएका थिए। उनीहरूले राजीनामा नदिए संसदीय दलको नेताबाट हटाउने चेतावनीसमेत दिएका थिए।

कमेन्ट लोड गर्नुस