असार ३ गते अछाममा ‘रामारोशन स्काई रन–२०२६’ आयोजना हुने
धनगढीः नेपाल एडभेन्चर रनिङ फेडरेसनले आगामी असार ३ गते सुदूरपश्चिम प्रदेशको प्रमुख पर्यटकीय क्षेत्र अछाममा ‘रामारोशन स्काई रन–२०२६’ आयोजना गर्ने भएको छ ।
सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्, सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालय, रामारोशन गाउँपालिका र साँफेबगर नगरपालिकासँगको सहकार्यमा हुन लागेको स्काई रनको मुख्य उद्देश्य सुदूरपश्चिमको प्राकृतिक सौन्दर्य, साहसिक खेलकुद, पर्यटन र स्थानीय संस्कृतिलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवर्धन गर्नु रहेको फेडरेसनले जनाएको छ ।
‘बाह्र बण्ड अठार खण्ड’ का नामले प्रख्यात, समुद्री सतहबाट दुई हजार ५० मिटरदेखि तीन हजार आठ सय ५० मिटरसम्म फैलिएको रामारोशन क्षेत्रका हिमाली ताल, विशाल पाटन, घना वन र मनोरम हिमशृङ्खलाबिच हुने यो प्रतियोगिताले नेपाललाई अन्तर्राष्ट्रिय स्काई रनिङ गन्तव्यका रूपमा स्थापित गर्ने अपेक्षा राखिएको छ ।
२८ किलोमिटर स्काई रनिङ च्यालेन्जमा पुरुष तथा महिला खुला विधा समावेश गरिएको छ । यस्तै स्थानीय युवालाई प्रोत्साहन गर्न २० वर्षमुनिका लागि पाँच किलोमिटर सामुदायिक दौडसमेत राखिएको छ । प्रतियोगितामा एक सय खेलाडीको सहभागिता रहने आयोजकले जनाएको छ ।
सात लाख ५२ हजार रुपियाँ पुरस्कार राशी रहेको प्रतियोगितामा खुलातर्फका विजेता, उपविजेता र तेस्रो हुनेले क्रमशः एक लाख ७५ हजार र ५० हजार रुपियाँ पुरस्कार पाउने छन् ।
अन्य विधाका विजेतालाई पनि आकर्षक पुरस्कार प्रदान गरिने मङ्गलबार आयोजित पत्रकार सम्मेलनमा फेडरेसनका अध्यक्ष एकेन्द्र कुँवरले जानकारी दिएका छन्।