सुदूर नेपाललाई विश्वसँग जोड्दै

भागबण्डामै मिल्यो काँग्रेस विवाद: अर्थ मन्त्रालय मुख्यमन्त्रीसँगै, दुई मन्त्रालय विष्ट पक्षलाई

२०८३ जेठ २४, ०९:०४ नारायण अवस्थी

धनगढीः सुदूरपश्चिम प्रदेशमा नेपाली काँग्रेसभित्र मुख्यमन्त्री कमलबहादुर शाह र असन्तुष्ट पक्षका नेता दिवानसिंह विष्टबीचको विवाद अन्ततः मन्त्रालय भागबण्डामार्फत समाधान भएको छ।

काँग्रेसका केन्द्रीय सहमहामन्त्री उदयशम्शेर राणाको उपस्थितिमा शनिबार साँझ भएको छलफलपछि दुवै पक्षबीच सहमति जुटेको हो। लामो समयदेखि चल्दै आएको शक्ति संघर्ष मन्त्रालयको जिम्मेवारी बाँडफाँटसँगै टुंगिएको काँग्रेस प्रमुख सचेतक विक्रमसिंह धामीले दिनेशखरसँग बताइए।

सहमतिअनुसार हाल काँग्रेसको भागमा रहेको आर्थिक मामिला मन्त्रालय मुख्यमन्त्री शाहले आफैंसँग राख्नेछन्। शाह पक्षले थप एक राज्यमन्त्रीसमेत पाउने भएको छ।

यस्तै, सामाजिक विकास मन्त्रालय तथा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय विष्ट पक्षको जिम्मामा जाने सहमति भएको छ। शाह पक्षले आर्थिक मामिलासहित सामाजिक विकास राज्यमन्त्री पाउनेछ भने विष्ट पक्षले आर्थिक मामिला राज्यमन्त्रीको जिम्मेवारी प्राप्त गर्नेछ।

मुख्यमन्त्री शाहविरुद्ध काँग्रेस संसदीय दलमा ९ जना प्रदेशसभा सदस्यले अविश्वासको प्रस्ताव दर्ता गरेका थिए। तर प्रस्तावमा हस्ताक्षर गरेकी प्रदेशसभा सदस्य डम्मरी महराले हस्ताक्षर फिर्ता लिएपछि शाहको नेतृत्व तत्कालका लागि सुरक्षित बनेको थियो।

पछिल्लो सहमतिसँगै काँग्रेसभित्रको आन्तरिक विवाद साम्य भएको नेताहरूले बताएका छन्।

नारायण अवस्थी दिनेश खबरका सहायक सम्पादक हुन्। उनले शिक्षा, स्वास्थ्य र कृषि विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस