सुदूर नेपाललाई विश्वसँग जोड्दै

अछाममा महिला वडा सदस्य मृत फेला

२०८३ असार १, १२:१२ खबर संवाददाता

धनगढीः अछामको ढकारी गाउँपालिका–४ बलातामा हराइरहेकी एक महिला जंगलमा मृत भेटिएकी छन्।

शुक्रबार बिहान करिब ११ बजे घरबाट हराएकी ढकारी–४ बलाता निवासी ३५ वर्षीया मनिषादेवी साउँद खोजीका क्रममा जंगलमा झुन्डिएको अवस्थामा मृत फेला परेकी हुन्। उनी ढकारी-४ की महिला वडा सदस्य थिइन्।

जिल्ला प्रहरी कार्यालय अछामका अनुसार मनिषाको परिवारले शनिबार दिउँसो करिब २ बजे प्रहरी चौकी ढकारीमा हुलिया सहित निवेदन दिएपछि प्रहरी टोली र स्थानीयवासी मिलेर खोजतलास सुरु गरेका थिए।

खोजीका क्रममा आइतवार साँझ करिब ४ः५० बजे उनी घरदेखि करिब पाँच सय मिटर टाढा पर्ने पाले वन क्षेत्रभित्र सालको रूखमा प्लास्टिकको डोरीले घाँटीमा पासो लगाएको अवस्थामा मृत फेला परेको अछामका प्रमुख डिएसपी ओमप्रकाश खनालले प्रहरीका जानकारी दिए।

डिएसपी खनालले साउँद मृत्यु प्रकरणका एक जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको बताए। उनले नियन्त्रणमा लिएको व्यक्तिको पहिचान भने अहिले नै सार्वजनिक गर्न नमिल्ने बताए।

प्रहरीका अनुसार मृतक साउँदको शव पोष्टमार्टमका लागि अहिले अस्पतालमा राखिएको छ भने परिवारकातर्फबाट किटानी जाहेरी आएको छैन।

मृतक साउँदका पति भने रोजगारीका लागि भारतमा रहेको बताइएको छ। 

कमेन्ट लोड गर्नुस