सुदूर नेपाललाई विश्वसँग जोड्दै

खोटाङमा कार्यरत बझाङकी स्वास्थ्यकर्मी धामी मृत फेला

२०८३ असार १, ०९:३५ खबर संवाददाता

धनगढी: बझाङ घर भएकी एक स्वास्थ्यकर्मी खोटाङमा आफ्नै डेरामा मृत अवस्थामा फेला परेकी छन्।

खोटाङको बराहपोखरी गाउँपालिका–१ स्थित स्वास्थ्य चौकीमा कार्यरत २३ वर्षीया अनिशाकुमारी धामी आइतबार बिहान डेराको कोठाभित्र मृत अवस्थामा फेला परेकी हुन्। उनी स्थानीय मुना तामाङको घरमा डेरा गरेर बस्दै आएकी थिइन्।

जिल्ला प्रहरी कार्यालय खोटाङका अनुसार धामी आइतबार बिहानदेखि कोठाबाट बाहिर ननिस्किएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। त्यसपछि घटनास्थलमा पुगेको प्रहरी टोलीले भित्रबाट बन्द रहेको कोठाको ढोका खोलेर हेर्दा उनलाई मृत अवस्थामा फेला पारेको हो।

प्रहरीले घटनाको कारण तत्काल खुल्न नसकेको जनाएको छ। शवलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि पठाइएको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ।

धामीको असामयिक निधनले स्वास्थ्य क्षेत्रसँगै उनको परिवार र स्थानीय समुदायमा शोक छाएको छ।

कमेन्ट लोड गर्नुस