भिरबाट टेम्पो खसालेको घटनामा वन अधिकृत र जमदारविरूद्ध मुद्दा दर्ता, १० जना रिहा
धनगढी – कैलालीमा वनका कर्मचारीले एक जना महिलाको टेम्पो भिरबाट खसालेको घटनामा दुई जनाविरूद्ध मुद्दा चलेको छ । प्रहरीले वरिष्ठ वन अधिकृत कृष्णबहादुर बोहरा र जमदार चेतराज फूलाराविरूद्ध शान्ति विरूद्धको कसुरमा मुद्दा चलाएको जनाएको छ । जिल्ला प्रहरी प्रवक्ता डिएसपी योगेन्द्र तिमिल्सिनाका अनुसार पक्राउ गरिएका वनका १२ जना कर्मचारीमध्ये दुई जनाविरूद्ध मुद्दा दर्ता गरिएको हो । बाँकी १० जनालाई रिहा गरिएको उनले जानकारी दिए । पीडितको जाहेरीका आधारमा दुई जनाविरूद्ध मुद्दा चलाइएको उनले बताए ।
यो घटना छानबिन गर्न भन्दै सुदूरपश्चिम सरकारले समितिसमेत गठन गरेको छ। उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले प्रदेश वन निर्देशनालयका निर्देशक हेमराज विष्टको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति बनाएको हो ।
गत शुक्रबार दिउँसो कैलालीको गोदावरी नगरपालिका–४ भीमदत्त राजमार्गअन्तर्गत पर्ने बासपानीमा डिभिजन वन कार्यालयका कर्मचारीले गोदावरीकै स्थानीय ४४ वर्षीया धनादेवी धामीको टेम्पो भिरबाट धकेलेर खसालेका थिए ।
धामीले आफ्नो घर नजिकै भीमदत्त राजमार्गको गाइमारे डाँडाको सडक किनारमा टेम्पो रोकेर त्यसमै पानी, चाउचाउ, बिस्कुट, अण्डा लगायत बिक्री गर्दै आएकी थिइन् ।
सडक किनारमा बसेर वन क्षेत्र अतिक्रमण गरी व्यापार गर्न नपाइने भन्दै वनका कर्मचारीले धामीको टेम्पो भिरबाट खसालिदिएका थिए । उक्त घटनाको सामाजिक सञ्जालहरूमा आलोचनासमेत भएको थियो।
यस घटनामा डिभिजन वन कार्यालय धनगढी, कैलालीका प्रमुख रामविचारी ठाकुरसहित २० जना कर्मचारीले आइतबार बिहान संयुक्त रूपमा हस्ताक्षर गरी एउटा वक्तव्य प्रकाशित गर्दै बचाउ गरेका थिए । प्रचार गरिए जसरी टेम्पो भिरबाट जानाजान नखसालिएको, बरू अतिक्रमण हटाउन बल प्रयोग गर्ने क्रममा भिरालो भौगोलिक सतह र असन्तुलनका कारण सञ्चालनमा नरहेको तथा गुड्न नसक्ने कबाड अवस्थाको टेम्पो भिरबाट खस्न पुगेको विज्ञप्तिमा उल्लेख गरिएको थियो ।