महाकाव्यकार जोशीको 'गोकर्णगीता' लोकार्पण, डाक्टर भट्टको कृतिमाथि विमर्श सम्पन्न
धनगढी: महाकाव्यकार मनिराज जोशीद्वारा लिखित ‘गोकर्णगीता’ कृतिको लोकार्पण तथा डाक्टर देवेन्द्रप्रसाद भट्टद्वारा लिखित समालोचनात्मक ग्रन्थ ‘काव्यऋषि मनिराजका अष्टदीप’ माथि विमर्श कार्यक्रम धनगढीमा सम्पन्न भएको छ।
मनिराज–ईश्वरी वाङ्मय प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा डाक्टर देवेन्द्रप्रसाद भट्ट सभापति तथा प्राध्यापक हेमराज पन्त प्रमुख अतिथिका रूपमा सहभागी थिए। विशिष्ट अतिथिमा श्रेष्ठ प्रिया पत्थर, क्याम्पस प्रमुख बुधराम चौधरी, महाकाव्यकार मनिराज जोशी, सहप्राध्यापक गणेशराज जोशी र जगन्नाथ जोशी, साहित्यकार पद्मराज जोशी (प्रभात) वासुदेव पाण्डेय, निर्मलप्रसाद भण्डारी, टोपेन्द्र शाह,लगायत साहित्यकार तथा बुद्धिजीवीहरूको उपस्थिति रहेको थियो।
कार्यक्रमको सुरुआतमा स्वागत मन्तव्य राख्दै तारा रोस्यारा जोशीले साहित्य सिर्जना सजिलो विषय नभएको उल्लेख गर्दै रचना गर्न अध्ययन, चिन्तन, मनन र समयको लगानी आवश्यक पर्ने बताइन्। अथक प्रयास र निरन्तर साधनाबाट मात्रै उत्कृष्ट साहित्यिक कृति जन्मिने उनको भनाइ थियो।
११४ पद्यमा रचना गरिएको ‘गोकर्णगीता’ को चर्चा गर्दै सहप्राध्यापक जगन्नाथ जोशीले साहित्य समाजको साझा सम्पत्ति भएको बताए। उनले विभिन्न कृतिमार्फत साहित्य क्षेत्रमा योगदान पुर्याउँदै सुदूरपश्चिमलाई राष्ट्रियस्तरमा चिनाउने कार्य महाकाव्यकार मनिराज जोशीले गरेको उल्लेख गरे। डाक्टर भट्टद्वारा लिखित ‘काव्यऋषि मनिराजका अष्टदीप’ ले नेपाली साहित्यमा थप योगदान पुर्याउने विश्वास उनले व्यक्त गरे।
सहप्राध्यापक गणेशराज जोशीले सुदूरपश्चिम विश्वविद्यालयको पाठ्यक्रममा मनिराज जोशीका साहित्यिक कृति समावेश नहुनु दुःखद भएको बताए। महाकाव्य र नाटक लेखन पछाडि परेको वर्तमान अवस्थामा जोशीको योगदान प्रशंसनीय रहेको उनको भनाइ थियो। उनले डाक्टर भट्टलाई मनिराज जोशीका प्रखर समालोचक र विज्ञका रूपमा चित्रित गरे।
विमर्शका क्रममा सहप्राध्यापक जोशीले डाक्टर भट्टको समालोचनात्मक ग्रन्थ ३६० पृष्ठको रहेको र पाँच अध्यायमा विभाजित गरिएको जानकारी दिए। ‘काव्यऋषि’ महाकाव्यकार मनिराज जोशीलाई जनाइएको सम्मानजनक उपाधि भएको र ‘अष्टदीप’ ले जोशीद्वारा रचित आठ महाकाव्यलाई जनाउने उनले बताए।
सहप्राध्यापक तथा समालोचक जोशीका अनुसार मनिराज जोशी पूर्वीय ज्ञान परम्पराका सफल सर्जक हुन्। ग्रन्थमा महाकाव्यकारका गुण र सिर्जनात्मक विशेषतामाथि विस्तृत चर्चा गरिएको भए पनि दोष–दर्शनलाई प्राथमिकता नदिइएको उनले स्पष्ट पारे।
पद्मराज जोशी (प्रभात) ले ‘गोकर्णगीता’ श्रीमद्भागवत गीताका श्लोकमा आधारित ग्रन्थ भएको बताए। पूर्वीय दर्शनका बिम्ब र प्रतीकले भरिपूर्ण उक्त कृति आध्यात्मिक र साहित्यिक दृष्टिले महत्त्वपूर्ण रहेको उनको भनाइ थियो।
अग्रज साहित्यकार श्रेष्ठ प्रिया पत्थरले नेपाली साहित्यको उर्वर भूमिमा एकैसाथ दुई महत्वपूर्ण कृति प्रकाशित हुनु खुसीको विषय भएको बताइन्। कमै साहित्य साधकले छोटो अवधिमै तीन दर्जनभन्दा बढी साहित्यिक कृति प्रकाशन गर्न सकेको उल्लेख गर्दै उनले मनिराज जोशीलाई ‘काव्यऋषि’ को उपाधि उपयुक्त रहेको धारणा राखिन्।
उनले भनिन्, “उमेरले वृद्धावस्थामा पुग्नुभए पनि मनिराज जोशी साहित्य सिर्जनामा अझै युवकजस्तै सक्रिय हुनुहुन्छ।”
प्रमुख अतिथि प्राध्यापक हेमराज पन्तले मनिराज जोशीबाट समय व्यवस्थापन, लगनशीलता र निरन्तर साधनाको शिक्षा लिनुपर्ने बताए। साहित्य सिर्जना सबैभन्दा कठिन साधना भएको उल्लेख गर्दै उनले साहित्यकार समाजका गहना भए पनि नेपालमा साहित्यकारले राजनीतिक कार्यकर्ताजस्तै संघर्ष गर्नुपर्ने विडम्बना रहेको टिप्पणी गरे।
महाकाव्यकार मनिराज जोशीले आफू समाजप्रति ऋणी रहेको बताउँदै अझै नयाँ–नयाँ काव्य रचना गरेर समाजलाई उपहार दिन चाहेको बताए। साहित्य सिर्जना अन्तरहृदयबाट प्रस्फुटन हुने उल्लेख गर्दै उनले संसार परिवर्तनशील रहेको र नयाँ पुस्ताले साहित्य सिर्जनामा थप योगदान दिने विश्वास व्यक्त गरे।
कार्यक्रमका सभापति एवं समालोचक डाक्टर देवेन्द्रप्रसाद भट्टले जन्मदेखि मृत्यु पर्यन्त मानव जीवनमा साहित्य आवश्यक हुने बताए। उनले साहित्यले निरस जीवनलाई सरस बनाउने उल्लेख गर्दै आठ वटा महाकाव्य रचना गर्नु सामान्य विषय नभएको र मनिराज जोशी असाधारण प्रतिभाका धनी सर्जक रहेको धारणा व्यक्त गरे।