सुदूर नेपाललाई विश्वसँग जोड्दै

बिरामीको जाँच गर्दागर्दै तीन जना डाक्टरलाई पनि डेंगुको संक्रमण

२०७६ भदौ १८, ०८:५३ खबर संवाददाता

सरुवा रोग अस्पताल टेकुका तीन जना डाक्टरलाई डेंगुको संक्रमण भएको छ। अस्पतालका वरिष्ठ फिजिसियनसहित तीन जना डाक्टरमा डेंगुको संक्रमण पुष्टि भएको अस्पतालका प्रशासकीय प्रमुख रुपनारायण खतिवडाले बताए। अरु ८ जना कर्मचारी पनि बिरामी परेका छन्। उनले भने, ‘बिरामीको जाँच गर्दागर्दै डाक्टरलाई पनि डेंगुको संक्रमण देखिएको छ।’ ‘अरु ८ जना अस्पतालकै कर्मचारी पनि बिरामी छन्। डाक्टरसहित ११ जनाको उपचार भइरहेको छ।’

डेंगुको संक्रमण हुनेमा डाक्टरसहित कार्यालय सहयोगी, स्वीपरलगायतका कर्मचारी छन्। पछिल्लो समय चाप बढेपछि बिरामीको उपचारमा खटिएका डाक्टरलाई समेत डेंगुको संक्रमण देखिएको अस्पतालका प्रमुख खतिवडाको भनाइ छ। बिरामी डाक्टर र कर्मचारीको नाम भने खुलाइएको छैन।

यस्तै मंगलबार मात्रै टेकु अस्पतालमा ५ सय ९ जनाले डेंगुको परीक्षण गरेका छन। पछिल्लो समय काठमाण्डौ उपत्यकामा डेंगुको संक्रमण बढेसँगै बिरामी जाँचका लागि टेकु अस्पताल पुग्ने गरेका छन्। मंगलबार जाँच गराएको रिर्पोट बुधबार आएपछि बिरामीको संख्या बढ्न सक्ने अनुमान गरिएको छ। अस्पतालमा अहिले २४ जनाको उपचार भइरहेको छ। ९० जना बिरामी उपचारपछि घर फर्किएका छन्। अस्पतालले १ हजार ५ सय ४ जनाको रगत परीक्षण गरे पनि एक सय बढीमा डेंगु पुष्टि भएको छ। डेंगुका कारण मोरङ, सुनसरी र चितवनमा गरी ३ जनाको ज्यान गइसकेको छ भने ४ हजार बढी बिरामी छन्।

यस्तै एकैदिन ५ सय जनासम्म बिरामी अस्पताल पुगेपछि ‘डेंगु हेल्प डेस्क’ स्थापना गरिएको छ। अस्पतालमा डेंगुका बिरामीको लामो लाइन लाग्न थालेपछि हेल्प डेस्क नै स्थापना गरेर सेवा सुरु गरिएको अस्पतालका प्रशासकीय प्रमुख खतिवडाले बताए। उनले भने, ‘बिरामीको चाप बढेपछि अस्पताल बाहिरै छुट्टै डेस्क स्थापना गरेरै सेवा सुरु गरेका छौँ। ‘गम्भीर प्रकृतिका डेंगुका बिरामीका लागि ल्याबमा ‘फिभर क्लिनिक’ पनि सञ्चालन गरेका छौँ।’ परीक्षणका लागि अस्पताल आउने गम्भीर प्रकृतिका बिरामीको संख्या पनि बढेपछि ‘फिभर क्लिनिक’ समेत सञ्चालन गरिएको उनले बताए।

यसअघि टेकु अस्पतालले बिरामीको संख्या बढेपछि २४ शय्या डेंगु बिरामीका लागि छुट्याएको थियो। अस्पतालमा अहिले २४ जना बिरामीको उपचार भइरहेको छ। ‘एडिज’ प्रजातिको लामखुट्टेले टोकेपछि डेंगु भाइरसको संक्रमण हुन्छ। सफा पानीमा बस्ने, बिहान, दिउँसो र बेलुकी बढी सक्रिय हुने र एकै लामखुट्टेले दश जनासम्मलाई टोक्ने भएकाले डेंगुको महामारी फैलिन सक्नेन जोखिम हुन्छ। टाउको दुख्ने, उच्च स्वरो आउने, शरीरमा बिमिरा देखिने, हातखुट्टा गह्रौँ हुने, खान मन नलाग्ने, हिँड्न गाह्रो हुने, रुघाखोकी लाग्ने जस्ता लक्षण देखिएमा डेंगु हुन सक्ने भएकाले तुरुन्तै जाँच गराउन डाक्टरले सुझाव दिएका छन्।

कमेन्ट लोड गर्नुस