कर्णाली नदीमा कैलाली र बर्दिया जोड्ने झोलुङ्गे पुल तयार
टीकापुरः कैलाली र बर्दिया जोड्ने दौलतपुरघाटस्थित कर्णाली नदीमा एकैवर्षमा झोलुङ्गे पुल तयार भएको छ । दुई वर्षमा निर्माण सक्ने गरेर थानी निर्माण सेवा काठमाडौँले ठेक्का लिएको पुल एक वर्षमै निर्माण गरिएको हो । पुलले टीकापुर नगरपालिका–५ र राजापुर नगरपालिका–१ लाई जोडेको छ ।
२०८२ असार ११ मा सम्झौता भई २०८४ असारमा सम्पन्न गर्ने सम्झौता भए पनि अहिले नै निर्माण सम्पन्न भइसकेकाले अगामी सोमबार पुल उद्घाटन गर्ने तयारी भइरहेको निर्माण कम्पनीका प्रतिनिधि विक्रम बस्नेतले जानकारी दिए। बस्नेतका अनुसार करिब ७५ मिटर गहिराइबाट पाइलिङ गरेर बनाइएको मल्टी स्पान ट्रेल ब्रिज अरू ठाउँकोभन्दा भिन्न छ । पुलको बिचभागमा पर्यटकले रोकिएर अवलोकन गर्न मिल्ने, मोटरसाइकल, रिक्सा रोक्न मिल्ने पार्किङसमेत बनेको छ ।
सहरी विकास मन्त्रालय, स्थानीय पूर्वाधार विकास विभागको १५ करोड ७३ लाख ९५ हजार रुपियाँको लागतमा ४८२ मिटर लम्बाइको एक मिटर ६० सेन्टिमिटर चौडाइको पुल बनेको हो । यसअघि यहाँका बासिन्दालाई कर्णाली नदी वारपार गर्दा डुङ्गाको सहारा लिनुपर्ने वा करिब सात किलोमिटर तल हुलाकी राजमार्गमा रहेको पुल तर्नुपर्ने अवस्था थियो । अब ती दुःखका दिन सकिएको स्थानीय सृष्टि चौधरीले बताइन्।
कञ्चनपुरको दोधराचाँदनी पुलकै झल्को दिने गरी बनेको दौलतपुर घाटको पुलबाट टीकापुर पार्क नजिकै रहेकाले यहाँ आउने पर्यटकका लागि पनि आकर्षण थपिने छ । पुल हेर्न आउने पर्यटकको चहलपहल सुरु भइसकेको अटोचालक सुन्दर चौधरी बताउउँछन्।
दौलतपुरघाटको पुल कैलाली र बर्दिया जोड्ने चौथो पुल हो । २०५० सालसम्म सुदूरपश्चिमका बासिन्दाले बाँकी देशसँग जोडिन फेरीमार्फत कर्णाली नदी तर्नुपथ्र्यो । २०५० सालमा पूर्वपश्चिम राजमार्गलाई जोड्न चिसापानीमा पहिलो पुल बनेपछि सुदूरपश्चिम बाँकी देशसँग जोडिएको थियो । त्यसपछि हुलाकी राजमार्ग बनेपछि सत्तीघाटमा दोस्रो पक्की पुल बनेको छ । यसै गरी टीकापुर नगरपालिका र बर्दियाको गेरुवा गाउँपालिका जोड्न सन्कट्टीघाटमा तेस्रो पुल बनेको छ ।
७५२ मिटर लम्बाइ र ११ मिटर चौडाइको सन्कट्टी पुल निर्माणमा एक अर्ब चार करोड र बाटो र नदी नियन्त्रणका लागि थप १४ करोड गरेर एक अर्ब १८ करोड रुपियाँ लगानी भएको छ । २०८३ असोजमा सक्ने गरी सम्झौता गरेको निर्माण कम्पनीले पुल निर्माणको काम सकेर यात्रीले प्रयोग गर्न थालेको र केही सडकको काम बाँकी रहेको निर्माण कम्पनी रसुवा कन्स्ट्रक्सनका इन्जिनियर धीरेन्द्र सहनीले बताए। -गाेरखापत्रबाट