सुदूर नेपाललाई विश्वसँग जोड्दै

अब त गाउँ नै फर्किनु पर्छ यार!

२०८३ असार ६, ०९:५५ नारायण अवस्थी

पुर्चौडीको त्यो बिहान अरू दिनभन्दा फरक थियो। असारको हल्का घाम डाँडामाथिबाट बिस्तारै झुल्किँदै थियो। गाउँका पुराना घरहरू, उही पाखा, उही चौतारी र उही खोला—सबै यथावत् थिए। परिवर्तन भएको थियो त केवल समयले। समयले चार साथीलाई चार दशकको यात्रापछि फेरि एउटै थलोमा ल्याइपुर्‍याएको थियो।

नविन, जनक, प्रेम र लोकेश।
कुनै बेला यी चार नाम पुर्चौडीको गलिनाथ प्राथमिक विद्यालयमा सँगै उच्चारण हुन्थे। शिक्षकले हाजिर बोलाउँदा, मेलापात जाँदा, दशैँको पिङ खेल्दा, नदीमा पौडी खेल्दा—उनीहरू सधैं एउटै समूहका सदस्य थिए। गाउँमा कसैले "चार जिग्री साथी" भने पुग्थ्यो, सबैले यिनैलाई चिन्दथे।

तर जीवनले आफ्नै बाटो रोज्छ।
एसएलसी पास गरेपछि उनीहरूको यात्रा फरक-फरक दिशातिर मोडियो। नविन अवसर खोज्दै धनगढी झर्‍यो। जनक उच्च शिक्षाको सपना बोकेर काठमाडौँ पुग्यो। प्रेम महेन्द्रनगरतिर लाग्यो। अनि लोकेश, जसले कक्षा १२ को पढाइ बीचमै छोड्यो, परिवारको जिम्मेवारीले थिचिएर मलेसिया हान्नियो।

त्यसपछि सुरु भयो दूरीको कथा।
पहिला चिठ्ठी आउँथे। कहिलेकाहीँ कसैले गाउँ आउने बेला अर्को साथीको खबर ल्याउँथ्यो। पछि मोबाइल आए, फेसबुक आयो, भाइबर र मेसेन्जर आए। तर जीवनका जिम्मेवारी, परिवार, रोजगारी र समयको चक्रले उनीहरूलाई एउटै थलोमा भेट्न भने सकेन।
कसैले छोरा हुर्कायो, कसैले छोरीको बिहे गर्‍यो। कसैले घर बनायो, कसैले विदेशको दुःख भोग्यो। कसैले सफलता पायो, कसैले संघर्षलाई नै जीवनको साथी बनायो।

यसबीचमा नविन र प्रेम दुई–तीन पटक भेटिए। जनकसँग पनि छुट्टाछुट्टै जम्काभेट भयो। लोकेश त वर्षौँ विदेशमै हरायो। तर चारै जना एकै ठाउँमा, एकै समयमा भेटिने अवसर भने कहिल्यै जुरेन।

अनि एक दिन एउटा फोन आयो।
'अब धेरै पर्खिनु हुँदैन। एकपटक गाउँमै भेटौँ,' नविनले समूहमा लेख्यो।
सबैले सहमति जनाए।
त्यो दिन तय भयो।
चालिस वर्षपछि।

जब चारै जना पुर्चौडी नगरपालिका वडा नम्बर ७ अवस्थी गाउँ र बडगाउँको बीचमा पर्ने टकौराको पिपल चौतारीमा पुगे, केही क्षण कसैले केही बोल्न सकेन। अनुहार चाउरिएका थिए, कपाल सेता भएका थिए, शरीरमा उमेरको भार देखिन्थ्यो। साठीको दशकमा लागेको उनीहरूको शरीर भारी भए पनि आँखामा भने उही किशोर उमेरको चमक बाँकी थियो।

सबैभन्दा पहिले लोकेश बोल्यो।
'यार, हामी त बूढा भइसक्या रहेछौँ।'
त्यति सुन्नासाथ चारै जनाको हाँसो एकैचोटि फुट्यो।
त्यो हाँसोमा चालिस वर्षको दूरी पग्लियो।

उनीहरू आफूले अध्ययन गरेको विद्यालय पुगे। आफूहरूले रोपेको पीपलको रुख अझै ठडिएको देखे। खेल्ने मैदान हेरे। त्यसको स्वरूप पूरै परिवर्तन भएको थियो। त्यो ढुङ्गा खोजे जहाँ बसेर भविष्यका सपना बुन्थे। खोला किनार पुगे जहाँ कहिल्यै नसकिने जस्तो लाग्ने बाल्यकाल बिताएका थिए। तर, खेल मैदान, स्कुल भवन, खोला तथा बाल्यकालमा उनीहरूका पैतलाले नापिएका बाटा कतै हराएका थिए भने कतै फराकिला भएका थिए।

जनकले एकछिन टोलाउँदै भन्यो,
'हामीले संसार जित्ने सपना देखेका थियौँ। तर उमेर ढल्किएको पत्तै भएन। समयसँगै गोरेटो सडक बन्यो, गौचरन जङ्गलमा परिणत भयो, खोला नालामा परिणत भएछ; हामी भने यत्रा वर्ष परिवार भित्रै सिमित पो भएछौँ।'
प्रेम मुस्कुरायो,
'संसार त जितिएन, तर जीवनसँग हारिएन पनि।'
त्यो वाक्यले सबैलाई केही क्षण मौन बनायो।

साँझ पर्न थाल्यो। गाउँमाथि सुनौलो घाम छरिँदै थियो। चारै जना चौतारीमा बसेर मोबाइल स्क्रोल गर्दै थिए। एकछिन चारै जना मोबाइलमा व्यस्त भए, वर्षौंपछि चारै जनाको एकसाथ भेट भएको कुरा समेत विर्सेर उनीहरू फेसबुक पल्टाउन थाले।

मोबाइल छेउमा राख्दै नवीन बोल्यो, 'अरे यार! यत्रो वर्षपछि आज बल्लतल्ल चारै जना साथी सँगै बस्न मिलेको छ, अझै मोबाइल चलाई राख्ने? कुरा गरौँ न कुरा।'
त्यसपछि उनीहरू पालैपालो आफ्नो सुनौलो बाल्यकाल र किशोवावस्थाका साझा अनुभवको चर्चा गर्न थाले।

स्कुलमा शिक्षकबाट कुटाइ खाएको, आपसमा झगडा भएको, गाउँमा गरिएका स-साना बदमासीको चर्चा गर्दै चारै जना किशोरावस्थामा फर्किए।

उनीहरूले स्कुल पढ्दा मन पर्ने केटी साथीको कुरा गरे। प्रेम-पत्र लेखेको, अर्काको प्रेम-पत्र चोरेर पढेको, केटी साथीसँग मुस्कुराएको, मौका मिल्दा थोरथोरै कुरा गरेको सम्झिएर उनीहरू उक्त समयको अङ्गालोमा एकछिन एकाकार हुन पुगे।

स्कुल पढ्दाको समय उनीहरूका लागि जीवनकै स्वर्णिम समय रहेको थियो भने कलेज पढ्दाको समय भने उत्तिकै  तिक्तता र त्रासदीपूर्ण थियो। माओवादी द्वन्दका कारण कलेज लाइफ अत्यासलाग्दो बनेको भन्दै उनीहरूले उक्त समयको चर्चा गर्न नै अफ्ठ्यारो माने।
 
त्यसपछि वैवाहिक जीवन र करियरको चर्चा हुन लाग्यो। कसैले आफ्ना संघर्ष सुनायो, कसैले सफलताका कथा। बीचबीचमा उनीहरूका आँखा रसाए, फेरि हाँसो गुञ्जियो।

लामो समयपछि भेट्दा त्यो दिन उनीहरूले एउटा कुरा महसुस गरे। समयले उमेर बढाउन सक्छ, दूरी बढाउन सक्छ, जीवन बदल्न सक्छ; तर साँचो मित्रतालाई मेटाउन सक्दैन। अनि सहरको रमझमले गाउँको माटोसँगको आत्मीयता पनि भुलाउन नसक्ने निष्कर्षमा चारै जना साथी पुग्छन्। 

कुराकानी गर्दागर्दै चारै जना साथीले आफ्ना सन्तान यत्रतत्र छरिएको प्रसङ्ग निकाल्दै सहरको घरमा पति-पत्नी दुई जना मात्रै बस्नुपर्दाको पीडा साझा गरे। उनीहरूको आँखामा अफ्ना सबै सन्तान विदेश भासिएको अव्यक्त पीडा झल्किन्थ्यो, यो साझा पीडा नबोलैरै अनुहारको भावमा प्रकटित भइरहेको थियो।

कुराकुरैका बीचमा नविनले भन्यो, 'साथीहरू गाउँ पहिला जस्तो रहेन अब, पक्की सडक छ, खानेपानी छ, नजिकै अस्पताल पनि बनेको रहेछ, हावापानी स्वच्छ छ, अब त आफ्नै गाउँमा पो पर्खिनु पर्छ सोच्दै छु म त।'

नविनको कुरा भुइँमा खस्न नपाउँदै प्रेम र लोकेशले हो मा हो मिलाए, दुबैले आफ्नो मनको कुरा बोलेको भन्दै गाउँमै घर निर्माणको कुरा जहानसँग गरिसकेको बताए।

गम्भीर मुद्रामा तीनै जना साथीको कुरा सुनिरहेको जनक अनुहार उज्यालो पार्दै बोल्यो, "मेरो मनमा एक दसकदेखी खेली राखेको कुरा पनि यही नै हो। मेरो श्रीमतीको मनसाय पनि गाउँमै फर्किने छ।" आँखा उज्यालो पारेर मुस्कुराउँदै  जनकले ठूलो स्वरमा भन्यो, 'हो यार अब त गाउँमै फर्किनु पर्छ। यी खेत, यी डाडाँकाँडा, यिनै वनपाखा र ओराली उकालीसँग फेरि मितेरी गास्न मन छ।'

नवीन बोल्यो, "हामी चारै जना साथीले चार दसकदेखि मनमा एउटै कुरा लुकाएर बसेको पो रहेछौँ। अब त गाउँमै फर्किनु पर्छ यार। मैले दस वर्ष अगाडि नै कुन ठाउँ, कस्तो घर बनाउने भनेर निर्णय गरिसकेको छु। यो बर्खामै घरको जग हाल्ने सोच्या छु।

चालीस वर्षको अन्तरालमा भएको भेट चारै जना वृद्धावस्था छुन लागेका साथीहरूका लागि जीवनकै टर्निङ पोइन्ट हुनेवाला भयो भन्दै चारै जना गलल हाँस्दै उठे।

रात पर्नुअघि बिदा हुने बेला लोकेशले हात अगाडि बढायो।
'अब फेरि चालिस वर्ष कुर्नु पर्दैन नि?'
नविनले उसको काँध समात्दै भन्यो,
'अब बाँकी जीवन नै भेटघाटको बोनस हो। अब त गाउँमै बस्ने हो केही समयपछि, त्यसपछि त चौतारो, चिया पसलमा दिनदिनै भेट भइहाल्छ नि।'

चारै जनाको हाँसो फेरि एकपटक पुर्चौडीको आकाशमा गुञ्जियो।

चालिस वर्षपछि उनीहरू केवल चार साथीको रूपमा भेटिएका थिएनन्। उनीहरू आफ्नो हराएको बाल्यकाल, आफ्नो गाउँ र आफ्नो मित्रताको इतिहाससँग पुनर्मिलन गर्न आएका थिए। र त्यो पुनर्मिलनले उनीहरूलाई सम्झाइदियो। जीवन जहाँ पुगे पनि, केही सम्बन्धहरू कहिल्यै पुराना हुँदैनन्।

चारै जनाको गाउँ नजिकै चार दिशामा थियो। उनीहरू मोटरसाइकल स्टार्ट गर्दै आफ्नो घरतर्फ लागे। जाँदाजाँदै नविनले भोलिपल्ट गुयेला खान मुसायल जानुपर्छ है भन्यो। बाँकी तीन जनाले टाउको हल्लाउँदै  मोटरसाइकलको गियर बढाउँदै अगाडि बढे।

नारायण अवस्थी दिनेश खबरका सहायक सम्पादक हुन्। उनले शिक्षा, स्वास्थ्य र कृषि विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस